काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग छलफल गर्नुभएको छ।
मौरिससको अनौपचारिक भ्रमणका क्रममा भएको भेटमा नेपाली श्रमिकको हित संरक्षण, श्रमिक भर्नासम्बन्धी द्विपक्षीय समझदारीपत्रको प्रभावकारी कार्यान्वयन तथा सुरक्षित र न्यायोचित कार्य वातावरण सुनिश्चित गर्ने विषयमा छलफल भएको पराजुलीले बताउनुभयो।
भेटमा नेपाल र मौरिससबिचको ४५ वर्ष लामो कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा श्रम, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने विषयमा पनि विचारविमर्श भएको थियो। नेपालको पशुपतिनाथ र लुम्बिनीसहितका धार्मिक स्थल तथा मौरिससका समुद्री तटलाई जोडेर पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको जनाइएको छ।

