काठमाडौँ – बडादशैँ तथा नवरात्रको आठौँ दिन आज दसैँघर र पूजाकोठामा नवदुर्गामध्ये आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा छ। धार्मिक मान्यताअनुसार महागौरी देवीको वर्ण पहिले कालो थियो। भगवान् शिवले ख्यालठट्टामा ‘ए काली’ भनेपछि देवीले त्यसलाई मन नपराएको र कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले उहाँको नाम महागौरी रहन गएको विभिन्न पुराणमा उल्लेख छ। महागौरीलाई सेतो वृषभमा सवार, गोरो वर्ण भएकी र श्वेत वस्त्र धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ।
नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी दसैँघर तथा पूजाकोठामा जौको जमरा राखिएको थियो। त्यस दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रि देवीको पूजा गरिएको थियो। सातौँ दिन फूलपातीसमेत भित्र्याइएको थियो।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार नवरात्रमा देवीको आराधना र पूजाआजा गर्दा शक्ति, ऐश्वर्य तथा विद्या प्राप्त हुन्छ।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीका नौ स्वरूपको विशेष पूजा आराधना गर्छन्। नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ। यी नौ स्वरूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाएर नेपालीले बडादशैँ मनाउने परम्परा छ।

