आईसीसीको मान्यतापछि एनपीएलमा कडा नियम, विदेशी खेलाडीलाई एनओसी अनिवार्य

Published on

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण तथा प्रतियोगिता सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपीएल सञ्चालन गर्दा आईसीसीको मापदण्डअनुसार आवश्यक व्यवस्था गरिने जानकारी दिनुभयो।

खड्काका अनुसार प्रतियोगितामा सहभागी विदेशी खेलाडीले सम्बन्धित देशको क्रिकेट बोर्डबाट अनापत्ति प्रमाणपत्र (एनओसी) लिनुपर्नेछ। म्याच फिक्सिङ तथा स्पट फिक्सिङ नियन्त्रणका लागि आईसीसीको भ्रष्टाचारविरोधी आचारसंहितासमेत कडाइका साथ लागू गरिनेछ।

फ्रेन्चाइज क्रिकेटमा हुन सक्ने अनियमितता रोक्न आईसीसीको भ्रष्टाचारविरोधी एकाइ (एसीयू) का नियम लागू गरिने उहाँले बताउनुभयो। यसमा नेपालको कानुन र आईसीसीको आचारसंहिता दुवै लागू हुने भएकाले खेलाडी, टोलीका मालिक तथा अन्य सरोकारवालाले जिम्मेवार र सतर्क हुनुपर्ने उहाँको भनाइ छ। आईसीसीको प्रावधानअनुसार एनपीएल सुरु हुनुअघिको छ महिनाको अवधिमा गैरकानुनी रूपमा वा सम्बन्धित निकायको स्वीकृतिबिना क्रिकेट प्रतियोगिता खेलेका खेलाडी यसपटक सहभागी हुन पाउने छैनन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका विदेशी खेलाडीले पनि सम्बन्धित क्रिकेट बोर्डबाट अनिवार्य रूपमा एनओसी लिनुपर्ने व्यवस्था गरिएको खड्काले जानकारी दिनुभयो।

एनपीएलको तेस्रो संस्करण सकिएको ६० दिनभित्र प्रतियोगिताको समीक्षा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था पनि रहेको उहाँले बताउनुभयो। यसपटक प्रत्येक फ्रेन्चाइज टोलीले कम्तीमा छदेखि बढीमा आठ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन्। खेलमा सहभागी हुने अन्तिम ११ खेलाडीमध्ये सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य समावेश गर्नुपर्नेछ। एनपीएलमा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) लागू गर्ने विषयमा तयारी अन्तिम चरणमा पुगेको सचिव खड्काले बताउनुभयो। यसबारे सोमबारसम्म औपचारिक जानकारी दिने तयारी रहेको उहाँले उल्लेख गर्नुभयो।

यसैबीच, क्यानले आगामी नोभेम्बर १९ देखि २१ सम्म काठमाडौँमा आईसीसी एसिया सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलनमा एसियाका टेस्ट तथा एसोसिएट राष्ट्रका क्रिकेट सङ्घका अध्यक्ष, सचिव र प्रमुख कार्यकारी अधिकृत सहभागी हुने खड्काले जानकारी दिनुभयो। सम्मेलनमा एसियाली क्रिकेटको नीतिगत विकासका विषयमा छलफल हुने उहाँको भनाइ छ।

spot_img

ताजा समाचार

आज नवरात्रको आठौँ दिन, महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादशैँ तथा नवरात्रको आठौँ दिन आज दसैँघर र पूजाकोठामा नवदुर्गामध्ये आठौँ देवी...

गगनकुमार थापाले लिए सभापति पदको शपथ

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको...

गलकोट नगर अस्पतालमा २८ वर्ष सेवा गरेकी डम्मरकुमारी जैसीलाई स-सम्मान बिदाइ

बागलुङ - गलकोट नगर अस्पतालले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका रूपमा २८ वर्षसम्म समुदायको स्वास्थ्य सेवामा...

एमालेले समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकार संकटमा, नयाँ गठबन्धनको गृहकार्य सुरु

जनकपुरधाम । सत्ता साझेदार नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना...