दरबाङ–मुना सडक : स्तरोन्नतिको काम हुँदै

Published on

काठमाडौं । म्याग्दीको बिकट धवलागिरि गाउँपालिका मुना जोड्ने दरबाङ–मुना सडक स्तरोन्नति आयोजना सञ्चालन गरिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ खण्डको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बेनी–दरबाङ–ताकम–मुना–जलजला हुँदै ढोरपाटन जोड्ने उक्त सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारको समपूरक अनुदान र गण्डकी प्रदेश सरकारको बजेट गरी कुल एक अर्ब १७ करोड ८९ लाख रुपियाँ लागतमा उक्त आयोजना सञ्चालन गरिएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले दुई वटा ठेक्कामार्फत उक्त सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको छ । 

सङ्घीय सरकारको समपूरक बजेटबाट पहिलो प्याकेजको दरबाङदेखि धारापानीसम्म सात किलोमिटर र सिवाङको झिनडाँडादेखि गाउँपालिका केन्द्र मुनासम्म छ किलोमिटर गरी कुल १३ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे हुने छ । यो आयोजनाका लागि ९२ करोड ९० लाख रुपियाँ लागत अनुमान तयार भएकोमा ५२ करोड ८० लाख ५३ हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ ।  यस आयोजना सम्पन्न गर्न सङ्घीय सरकार र प्रदेश सरकारको ५०÷५० प्रतिशत लागत साझेदारी हुने छ । सडक स्तरोन्नतिसहित कालोपत्रे गर्नका लागि पूर्वाधार विकास कार्यालयले सक्षम सिम्रन जेभी पोखरासँग २०८४ भदौ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी २०८२ असार ११ गते ठेक्का सम्झौता गरिसकेको छ । 

यो खण्ड अन्तर्गत दरबाङदेखि धारापानी गाउँसम्मको सडक चौडा गर्ने, नाली निर्माण, ग्राभेललगायतका काम दुई वर्षअघि नै भएकाले यसपालिको ठेक्कामार्फत कालोपत्रे र बाँकी स्थानमा सडक ढलानको काम हुने छ ।  सिवाङको झिनडाँडादेखि गाउँपालिका केन्द्र मुनासम्म सडक फराकिलो पार्ने, घुम्ती सुधार, नाली निर्माणलगायतका पूर्वाधार निर्माण गरी सडक कालोपत्रे र ढलान गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताउनुभयो । उहाँका अनुसार यो योजनामा तीन किलोमिटर सडक ढलान र बाँकी स्थानमा आस्फाल्ट प्रविधिको कालोपत्रे हुने छ ।

 सडक स्तरोन्नतिका लागि मजदुर र उपकरणसहित कार्यस्थलमा निर्माण व्यवसायी परिचालन भएको छ । यो आयोजनाका लागि सङ्घीय सरकारबाट चालु आर्थिक वर्षमा २३ करोड २२ लाख रुपियाँ प्राप्त भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।  त्यसै गरी गण्डकी प्रदेश सरकारको बजेटबाट आयोजनाको दोस्रो खण्डमा पर्ने धारापानी गाउँदेखि झिनडाँडासम्मको छ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे र ढलान गर्नका लागि २४ करोड ९९ लाख रुपियाँ लागत अनुमान तयार भएको उक्त आयोजना १४ करोड ६१ लाख ६१ हजार रुपियाँमा ठेक्का सम्झौता थियो  । 

२०८३ भदौभित्रमा निर्माण सम्पन्न गर्ने गरी २०८१ जेठ २० गते रामसागर–बिएस–धवलागिरि–बिके–एसके जेभीसँग ठेक्का सम्झौता भएको यो आयोजनामा अहिलेसम्म ७० प्रतिशत भौतिक र ५८ प्रतिशत वित्तीय प्रगति भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीले सडक पूर्वाधार निर्माणको काम सकेर कालोपत्रे र ढलानको काम सुरु गरेको छ । योजना अन्तर्गत बस्तीस्तरमा आस्फाल्ट प्रविधिको कालोपत्रे, उकालो स्थानमा ढलान र अन्य स्थानमा ग्राभेल हुने छ । यो आयोजना सञ्चालनका लागि गण्डकी प्रदेश सरकारबाट चालु आवमा चार करोड ४९ लाख रुपियाँ प्राप्त भएको कार्यालयले जनाएको छ । जिल्लाको विकट गाउँपालिका केन्द्रसम्म नै सडक स्तरोन्नति गर्ने यस कार्यालयका लागि ठुलो आयोजना भएकाले कार्यालयका तर्फबाट प्राविधिक जनशक्ति परिचालन गरी अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाइएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । ठेक्का लगाएका दुई वटा प्याकेज आगामी २०८४ को भदौसम्म सम्पन्न भएमा दरबाङदेखि गाउँपालिका केन्द्र मुनासम्मको सडक कालोपत्रे भई आवतजावतमा सहज हुने विश्वास गरिएको छ ।  

जिल्लाको पश्चिम भेगलाई सदरमुकाम बेनीसँग जोड्ने उक्त सडक आयोजनामा सङ्घीय समपूरक र गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको ठुलो बजेट भएकाले तोकिएको समयभित्र सडक निर्माण भएमा यस क्षेत्रकै आर्थिक र सामाजिक विकासमा ठुलो फड्को मार्ने अपेक्षा गरिएको गण्डकी प्रदेश सभामा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य रेसमबहादुर जुग्जालीले बताउनुभयो । धवलागिरि गाउँपालिकाको केन्द्र मुना पुगेको सडकलाई जलजलादेखि बागलुङको ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्न सकेमा त्यस भेगका सर्वसाधारणलाई पोखरा–काठमाडौँ आवतजावत गर्न मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर छोटो पर्ने छ । 

बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरबाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । बेनी–तोलाबाङ खण्डमा यसअघि नै १८ किलोमिटर सडक कालोपत्रे भएको छ । गाउँपालिका केन्द्र मुनासम्म सडक निर्माण भएमा भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको पूर्वाधार र आर्थिक क्षेत्रको विकासमा ठुलो परिवर्तन आउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।  गोरखापत्र 

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...