बर्दिबास–७ बालविवाहमुक्त वडा

Published on

काठमाडौं । ‘बालविवाहको अन्त्य, समृद्ध समाजको गन्तव्य’ भन्ने मूल नाराका साथ बर्दिबास नगरपालिका–७ बालविवाहमुक्त वडा घोषित भएको छ । वडाको प्रेमनगरस्थित शिव मन्दिर परिसरमा आयोजित ‘घोषणा सभा–२०८२’ मा सामूहिक हस्ताक्षरसहित साझा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै बालविवाहमुक्त वडा घोषणा गरिएको हो । १४ वटा वडा रहेको बर्दिबास नगरपालिकामा बालविवाहमुक्त घोषणा गर्ने वडाको सङ्ख्या योसमेत अब ११ पुगेको छ ।आइतबार साँझसम्म चलेको घोषणा सभालाई सम्बोधन गर्दै नगरप्रमुख प्रहलाद क्षेत्रीले बालविवाहलाई कानुनी अपराध, सामाजिक अभिसाप र बालअधिकार हनन भएको व्याख्या गर्दै बर्दिबासलाई महोत्तरीकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य रहेको बताउनुभयो ।

नगरप्रमुख क्षेत्रीले भन्नुभयो, ‘‘बालविवाह मुक्त भएको घोषणा गरेर मात्र पुग्दैन । आफ्ना सन्ततिको भविष्यका लागि बालविवाहविरुद्ध समाज र परिवार कठोर हुनैपर्छ ।’’ उपप्रमुख तारादेवी महतोले समाजमा गहिरो जरा गाडेको बालविवाह उन्मूलन चुनौतीपूर्ण रहेको बताउनुभयो । यद्यपि, बर्दिबास–७ ले देखाएको सक्रियता र उपलब्धि अन्य वडाका लागि पनि प्रेरणादायी बनेको उहाँको भनाइ थियो । वडा नं ७ का वडाध्यक्ष रामसोगारथ यादव भोरिलका अनुसार आदीवासी, जनजाती, दलित लगायत तीन हजार ४५८ जनसङ्ख्या बसोबास गर्ने यस वडामा दुई वर्षअघि गरिएको एक सर्वेअनुसार बालविाह दर ५० प्रतिसत थियो ।

सर्वेले वडाको अवस्था भयावह र चुनौतिपूर्ण देखाएपछि वडाध्यक्ष भोरिलकै नेतृत्वमा बालविवाहविरुद्ध सचेतीकरण अभियान सुरु भयो । तीन वटा विद्यालयमा गठन भएका वडा वडाध्यक्ष भोरिलले भन्नुभयो, ‘‘वडाका चार वटा टोल र तीन वटा विद्यालयमा गठन भएका ‘वडा बाल समिति’ र बाल क्लवले गरेका सडक नाटक, घर–दैलो अभिमुखीकरण, कानूनी जानकारी र सामाजिक दबाबका कारण अभियान प्रभावकारी बन्दै गयो ।’’ अभियानलाई सेभ द चिल्ड्रेन, सामुदायिक विकाश पैरवी मञ्च जस्ता संघसंस्थाले साथ दिए । वडा सदस्य रामशंकर कापरको संयोजकत्वमा गठित ‘प्रभावशाली समिति’ को प्रभाव परिवार र समुदायमा पर्न थाल्यो । वडा प्रहरी, स्वास्थ्य चौकी, नागरिक समाज, आमा समूह पनि कार्यक्रममा जुट्दै गए ।

डेढ वर्षपछि वडा र अभियानकर्ता संघसंस्थाले दोश्रो सर्वे गर्दा बालविवाह दर झण्डै ९२ प्रतिसमा झरेको देखाएपछि वडालाई बालविवाह मुक्त घोषणा गरिएको वडाध्यक्ष भोरिलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो सफलता वडावासीका लागि विजय उत्सवसरह हो । बाँकी रहेको ८ प्रतिशतलाई पनि शून्यमा झार्न अभियान जारी छ ।’’ नगरपालिका महिला शाखा प्रमुख सुष्मा थापाका अनुसार बालविवाहमुक्त घोषणा गर्न निर्धारित १३ वटा सूचकमा ९० प्रतिशतभन्दा बढी अंक हासिल हुनुपर्छ । पछिल्लो सर्वेक्षणले बर्दीबास–७ ले सबै मापदण्ड पूरा गरेको देखाएपछि ‘बालविवाहमुक्त वडा’ घोषणा गरिएको हो ।

घोषणा सभामा प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारीले बालविवाह उन्मूलनलाई नगरपालिकाले नीतिगत रूपमा अघि बढाएको बताउदै यसलाई सफल बनाउन समाजका सबै क्षेत्रलाई सहयोग र सहकायका लागि आग्रह गर्नुभयो । सामुदायिक विकास पैरवी मञ्चका अभियानकर्मी सोमबहादुर कार्कीले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने कानुनी व्यवस्था अन्तर्राष्ट्रिय प्रतिवद्धतासमेत रहेको स्मरण गराउँदै नगरका बाँकी ३ वडालाई पनि बालविवाहमुक्त बनाउन निरन्तर सहकार्यमा रहने बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...