असुरक्षित भवनबाट सुरक्षाको प्रतिबद्धता

Published on

काठमाडौं । टिनको छानाभित्र जाडोयाममा धेरै जाडो र गर्मी मौसममा निकै गर्मी हुने गर्छ । मालिका गाउँपालिका–४ को अर्खबाङ प्रहरी चौकीमा बर्सातका बेला पानी परे ब्यारेकमा चुहिएर भाँडा थाप्नुपर्ने बाध्यता छ । राम्रो घेरबार छैन, हुलहुज्जत भए चौकी आफैँ असुरक्षित छ । कुनै उजुरी लिएर नागरिक आए खुला चौरमा राखेर छलफल गर्नु पर्छ । अर्खबाङ स्वास्थ्य चौकीको पुरानो भवन जीर्ण तीन कोठाबाटै अर्खबाङ प्रहरी चौकीले कार्यसम्पादन गरेको छ ।  १२ जनाको दरबन्दीमा छ जना कार्यरत चौकीबाट चार वटा वडामा नागरिकको शान्तिसुरक्षाको काम गरिरहेको अर्खबाङ प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो, “घाम डुबेपछि बाहिर उभिन सकिँदैन । पानी परे चुहिएर भित्र ओभानो हुँदैन ।” मालिका गाउँपालिका प्रमुख देवीराम अर्यालले चौकीका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाए पनि त्यसले निकास दिन नसकेको बताउनुभयो ।

२०५७ सालमा स्थापना भएको इस्मा गाउँपालिका–१ को हस्तीचौर प्रहरी चौकी जीर्ण घरमा भाडामा बस्दै आएको छ । लामो समय सहकारीमा बसेको चौकी हाल भाडाको जीर्ण घरमा आफूहरू कष्टपूर्ण रूपमा बस्दै आएको हस्तीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विनय श्रीवास्तवले बताउनुभयो । चार कोठामा आवास, ब्यारेक र कार्यालयको काम व्यवस्थापन गर्न निकै मुस्किल परिरहेको छ । खानेपानीको त्यस्तै खालको सङ्कटका कारण खानपान र सरसफाइमा मुस्किल परिरहेको उहाँले बताउनुभयो ।  शौचालय नहुँदा दिसापिसाब खाडल खनेर व्यवस्थापन गरिरहेको श्रीवास्तवले बताउनुभयो । उहाँले भन्नुभयो, “मान्छे आए बसेर छलफल गर्न सकिँदैन । खानेपानी, शौचालयसहित बस्न निकै अप्ठ्यारो छ ।” २०५६ सालमा स्थापना भएको कालीगण्डकी गाउँपालिका–७ को भुर्तुङ प्रहरी चौकी स्थानीयको कच्ची घरमा भाडा तिरेर लामो समय बस्यो । गत वर्ष प्रहरी चौकी पहिरोका कारण जोखिममा परेपछि नजिकको विद्यालय भवनमा भाडामा बस्दै आएको भुर्तुङ प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलले जानकारी दिनुभयो । 

 २०४० सालमा स्थापना भएको पूर्तिघाट प्रहरी चौकी चार दशकसम्म भाडाको कच्ची घरमा बसेको छ । २०५३ सालमा स्थापना भएको मुसीकोटकै पौदी अमराई प्रहरी चौकी पनि भाडाकै कच्ची घरमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।  जिल्लामा जग्गा र भवन भएका आठ प्रहरी कार्यालय रहेका छन् । जग्गा र भवन भएका १२ र जग्गा र भवन नै नभएका १२ प्रहरी कार्यालय रहेको प्रवक्ता सारुले बताउनुभयो । केही चौकी अनिवार्य स्तरवृद्धि गर्नुपर्ने छन् । २०३२ सालमा स्थापना भएको वामी प्रहरी चौकी हो । मुसीकोट नगरपालिकाको मुकाममा भए पनि वामी प्रहरी चौकीको स्तरवृद्धि अझै नभएको सारुले बताउनुभयो । जिल्लामा प्रहरीको दरबन्दी ४४७ भए पनि कार्यरत ३६५ जना छन् ।

निकासा भए पनि गौडाकोटमा प्रहरी चौकी स्थापना भएको छैन । नेपाल सरकारको गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गृह जिल्ला पनि यही हो । देश र जनताको सुरक्षाका लागि खटिएका नेपाल प्रहरीले कतै भाडाको घर, त कतै टिनको छाप्रोमा बास बसेर भौतिक असुविधासहित सेवा प्रवाह गरिरहेका छन् । आफ्नै भवन नहुँदा सबैभन्दा बढी असर सेवा प्रवाहमा पर्ने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । उहाँले नेपाल प्रहरीले आफ्नोभन्दा जनताको शान्तिसुरक्षालाई प्रथामिकता दिएकाले असुविधाका बिच पनि कर्तव्यबाट विचलित नभएको बताउनुभयो ।  गोरखापत्र 

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...