काठमाडौं । सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति प्रदेश २–०१–००१ प १७०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय दिपेन्द्र पासवानको निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार पासवान सडकको छेउमा उभिएर नम्बर नखुलेको ट्रयाक्टरमा पछाडिबाट थ्रेसर जोडेर धान दाइँका काम गरिरहेका थिए। सोही बेला बोदेबर्साइनतर्फबाट राजविराजतर्फ जाँदै गरेको उक्त मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका पासवानलाई उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज लगिएको थियो। तर स्वास्थ्यकर्मीहरूले उनलाई अस्पताल पुर्याए लगत्तै मृत घोषणा गरेका थिए, प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।
घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–१२ अर्नाहा चौकका २८ वर्षीय रामचन्द्र चौधरी घाइते भएका छन्। उनी उपचाररत रहेको प्रहरी कार्यालयले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

