काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेका बा.प्र.०१–०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण गुमाएर पैदल यात्रीलाई ठक्कर दिएको छ। दुर्घटनापछि कार र चालकलाई डुम्रे प्रहरी चौकीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटना स्थल प्रहरी चौकीबाट करिब दुई किलोमिटर पश्चिमतर्फ पर्छ।
दुर्घटनामा म्याग्दीको धौलागिरि गाउँपालिका–७ की ३८ वर्षीया लीला जौशी र बेनी नगरपालिका–२ की ३८ वर्षीया लीला सुवेदी घाइते भएका छन्। प्रारम्भिक उपचारका लागि दुवैलाई डुम्रेको लक्ष्मी सिटी अस्पतालमा भर्ना गरिएको थियो। पछि अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि गण्डकी अस्पताल, पोखरा रिफर गरिएको थियो। हाल दुवै घाइते पोखरास्थित मेट्रोसिटी अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत छन् र उनीहरूको अवस्था सुधारोन्मुख रहेको परिवारजनले बताएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

