काठमाडौं । पर्वतको कुश्मा नगरपालिकास्थित एक सामुदायिक विद्यालयमा स्वर्गीय देवेन्द्रकुमारी पुरी र करुणाराज पुरीको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ। तेह्रौँ पुण्य तिथिको अवसरमा पुरी परिवारले समाजसेवाप्रति मृतक आमाको झुकावलाई अगाडि बढाउने उद्देश्यले १ लाख ५१ हजार ३२५ रुपैयाँ कोषमा अर्पण गरेको हो। भेटी तथा पारिवारिक सहयोग मिसाएर विद्यालयलाई रकम हस्तान्तरण गरिएको परिवारले जनाएको छ। विद्यालयका प्रधानाध्यापक खड्कराज पुरीका अनुसार कोषमार्फत आर्थिक रूपमा कमजोर, असहाय तथा शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री उपलब्ध गराइने छ।
स्वर्गीय देवेन्द्रकुमारी पुरीका छोरा विनोद पुरीले आमाको नाममा शिक्षा क्षेत्रमा योगदान दिन पाउनु आत्मसन्तुष्टि भएको बताए। अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक तथा पर्वत यूके समाजका पूर्व वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले, “आमाले समाजसेवामा देखाउनुभएको समर्पणलाई निरन्तरता दिन यो कोष स्थापना गरिएको हो,” भने। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम नेपालीले यस्तो सहयोगले विद्यालयको शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनका अनुसार विद्यालय स्थापना कालदेखि निरन्तर साथ दिँदै आएको परिवारले अक्षय कोषमार्फत थप प्रेरणादायी उदाहरण प्रस्तुत गरेको हो।
स्थानीय अभिभावकहरूले स्वर्गीय देवेन्द्रकुमारी पुरी समुदायमा सहयोगी, परोपकारी र सामाजिक जिम्मेवारीका प्रतीकको रूपमा पहिचान भएको बताउँदै परिवारले उठाएको यो कदम प्रशंसनीय रहेको बताए। विद्यालयले कोष सञ्चालनका लागि स्पष्ट कार्यविधि लागू गरिने र सहयोग पारदर्शितापूर्वक वितरण गरिने जानकारी दिएको छ। गोरखापत्र

