काठमाडौं । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ । अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युतगृह निर्माण कार्यले तीव्रता पाएको छ । आयोजना प्रमुख ज्योतिकुमार केसीले एक वर्षको अवधिमा ३० दशमलव ९४ प्रतिशत भौतिक र ३० दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिनुभयो । “चार ठाउँबाट सुरुङ खन्ने काम भैरहेको छ,” उहाँले भन्नुभयो, “विस २०८३ फागुनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यअनुसार विद्युतगृह र बाँध निर्माण कार्यलाई पनि तीव्रता दिएका छौँ ।” कुल पाँच हजार सात सय ८९ दशमलव ७१ मिटर लामो सुरुङ हालसम्म दुई हजार तीन सय ६० मिटर निर्माण सकिएको छ ।
बाँध निर्माणस्थलमा ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । करिब दुई हप्तामा विद्युतगृहको उत्खनन् कार्य सकेर संरचना निर्माणको तयारी भएको छ । विसं २०८० चैत १९ मा सम्झौता गरेको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्र्याक्टरले २०८१ जेठ ८ गते परिचालित भएको थियो । धवलागिरी गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भएरहेको छ । बाँध निर्माण स्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीन वटा पानी थिग्राउने पोखरी निर्माणाधीन छ । मेकानिकल र इलेक्ट्रो–मेकानिकल कार्यका लागि निर्माण कम्पनी छनोट भएको छ । रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटबाट विद्युतगृहको उचाइ एक सय ९६ मिटर छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ ।
ऊर्जा इन्जिनियरीङ एण्ड म्यानेजमेन्ट सोलुुसनले परामर्शदाता रहेको यस आयोजनाको प्रवर्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध छ । विद्युतगृहबाट मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको सबस्टेशन जोड्ने एक सय ३२ केभी क्षमताको एक दशमलव पाँच किलोमिटर प्रसारण लाइनको अध्ययन भइरहेको छ । सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपियाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ । यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ । भारवाङबाट बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि छ करोड २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । हालसम्मको प्रगतिअनुसार निर्धारित समय तालिकाभित्रै सम्पन्न हुनेमा विश्वस्त रहेको आयोजना प्रमुख केसीले बताउनुभयो । गोरखापत्र

