काठमाडौं । नेपाली कांग्रेस दैलेखले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ। साथै, माघ ११ गते तय भएको राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले दुवै चुनावका लागि आकांक्षीहरूको नाम संकलन र सिफारिस कार्यलाई तीव्र बनाएको हो। पार्टीको केन्द्रीय निर्देशनअनुसार सहमतिबाट उम्मेदवार टुंगो लाग्न नसके सबै आकांक्षीको नाम केन्द्रमा पठाइने दैलेख कांग्रेसका सभापति मणिराम रेग्मीले जानकारी दिनुभयो। उहाँले आकांक्षीको संख्या बढी भएकाले असन्तुष्टि नहुने गरी छलफलमार्फत सहमति जुटाउने प्रयास भइरहेको बताउनुभयो।
रेग्मीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ १३ जनाले आकांक्षा देखाएका छन्। तीमध्ये खेमराज केशी, खेमराज वली, गणेशप्रसाद उपाध्याय, देवेन्द्रबहादुर थापा, नगेन्द्रबहादुर मल्ल, नर्सिङ मल्ल, पदमबहादुर मल्ल, बखतबहादुर कटुवाल, बास्ना थापा, भूपेन्द्र शाही, मणिराम रेग्मी, मनोजकुमार थापा र सुशील देउजा छन्। समानुपातिकतर्फ ७ आकांक्षीमध्ये कुलबहादुर विश्वकर्मा, दीपक सोनी, दुर्गा श्रेष्ठ, निर्मलाकुमारी थापा, मीनाकुमारी थापा र मोहनमाया प्याकुरेल रहेका छन्। राष्ट्रिय सभातर्फ ६ आकांक्षीको नाम परेको छ। तीमध्ये किशोर केसी, रङ्गबहादुर शाही, खड्कबहादुर सिजापति, नगेन्द्रबहादुर खत्री, सीता ज्ञावली र हिक्मतबहादुर विश्वकर्मा छन्। साथै प्रतिनिधिसभा समावेश समानुपातिकतर्फ गणेशबहादुर बोगटीको नाम सिफारिस गरिएको छ।

