काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ । बारम्बार पहिरो खस्ने, पानी पर्दा हिलो र नपर्दा धुलाम्य हुने सास्तीबाट यात्रुहरूले मुक्ति पाएका छन् । विशेषगरी, म्याग्दे गाउँपालिकाको मौरीबासमा सडक कालोपत्र भएसँगै यस खण्डको यात्रा निकै सहज बनेको छ । मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पोखरा–जामुने पश्चिम खण्ड मा पिच र विस्तार कार्य द्रुत गतिमा अगाडि बढेको छ । ३८ किलोमिटर ९किमि० मध्ये ३७ किमि एकतर्फी कालोपत्र पूरा भएपछि यात्रामा सहजता थपिएको हो । धेरै स्थानमा कालोपत्रे दोस्रो तहसम्म सम्पन्न भइसकेकाले यात्रा सुगम बन्दै गएको स्थानीय तथा यात्रुको प्रतिक्रिया छ ।
सडक फराकिलो र कालोपत्र भएकोले यात्रा सहज भएको विष्णु गन्र्धवले बताउनुभयो । गन्र्धवले भन्नुभयो, ‘‘दमौलीबाट पोखरा पुग्न पहिला डेढ घण्टा लाग्थ्यो अहिले एक घण्टामै पुग्न सकिने भएको छ यात्रा सहज भएको छ ।’’ आयोजनाका इन्जिनियर सहनशिला कायस्थले जानकारी दिनुभएअनुसार, यस खण्डमा कुल भौतिक प्रगति ६० प्रतिशत नाघेको छ । योजनाअन्तर्गत सडक चौडाइ विस्तार, सर्भिस लेन निर्माण, नाला, पुल तथा कल्भर्ट निर्माणका कामहरू समानान्तर रूपमा अगाडि बढिरहेका छन् । पश्चिम खण्डका १२ मध्ये ११ वटा पुल पूरा भइसकेका छन् भने सेती नदीमा निर्माण भइरहेको पुलले पनि आधाभन्दा बढी भौतिक प्रगति हासिल गरेको छ ।
दैनिक करिब छ सय मजदुर खटिने यस क्षेत्रमा मासिक झन्डै १८ हजार मजदुरले रोजगारी पाउने गरी काम भइरहेको छ । कतिपय स्थानमा संरचना सार्ने प्रक्रिया, रुख कटानी र निजी घर हटाउने विषयमा ढिलाइ भएपछि केही काम प्रभावित भए पनि समग्र प्रगति निर्धारित लक्ष्यअनुसार अघि बढिरहेको योजना कार्यालयको भनाइ छ । सडक स्तरोन्नतिका अवरोधहरू हटेसँगै यात्रुहरूले सहज, छरितो र सुरक्षित राजमार्गको अनुभव गर्न थालेका छन्। नजिकिएको म्यादभित्र स्तरोन्नति कार्य सम्पन्न भई आधुनिक मानकअनुसारको राजमार्ग सार्वजनिक हुने अपेक्षा गरिएको छ । गोरखापत्र

