छ महिनामा भित्रियो साढे ३० करोड

Published on

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल बिक्रीबाट साढे ३० करोड बढी नगद हात पारेका छन् । बेमौसमी तरकारी खेतीमा मिहिनेत र लगानी दुबै बढाउँदै लगेका किसानहरूले गत जेठको अन्तिम हप्तादेखि हालसम्म ३० करोड ५१ लाख २२ हजार ७२५ रुपियाँ बराबरको ७८ लाख ५९ हजार ९३६ किलो ताजा तरकारी र फलफूल बिक्री गरेको कृषि उपज बजार केन्द्र कपुरकोटले जानकारी दिएको छ । यद्यपी किसानहरूले यस वर्ष विगतका वर्षहरूको तुलनामा आफ्नो कृषि उत्पादनले न्यून मूल्य पाएको गुनासो गरेका छन् । बजार केन्द्रका अध्यक्ष तिलक शर्माका अनुसार छ महिनामा किसानहरूले ५० लाख ८५ हजार ४८१ किलो टमाटर बिक्रीबाट १९ करोड ३९ लाख नौ हजार ४१७ रुपियाँ र १५ लाख सात हजार ६८६ किलो बन्दा बिक्रीबाट तीन करोड १६ लाख ६१ हजार ४२१ रुपियाँ आम्दानी गरेका छन् । 

यस्तै सात लाख ४६ हजार ३८७ किलो काउली बिक्रीबाट तीन करोड ५० लाख ८० हजार २३१ रुपियाँ हात पारेका किसानहरूले एक करोड ९५ लाख ८२ हजार २०७ रुपियाँ बराबरको दुई लाख ६४ हजार ६२४ किलो सिमी, ८८ लाख ९८ हजार ६०६ रुपियाँ बराबरको एक लाख २० हजार ५१२ किलो भेडे खुर्सानी, एक लाख १७ हजार ७३५ रुपियाँ बराबरको नौ हजार ८०० किलो नास्पाती र ३० लाख ९४ हजार ६८५ रुपियाँ बराबरको ५३ हजार ४९५ किलो अदुवा बिक्री गरेका हुन् ।

यस वर्ष किन तरकारीले कम मूल्य पायो ?

यस वर्ष टमाटर लगायतका तरकारीले कम मूल्य पाएको कपुरकोट-३, मुलपानीका किसान ठगबहादुर बस्नेतले बताउनु भयो । करिब १९ रोपनी जग्गामा बेमौसमी तरकारी खेती गर्नु भएका उहाँले ४ हजार बोट टमाटर मात्रै लगाउनु भएको थियो । असारको दोस्रो सातासम्म टमाटरको मूल्य ठिकै गए पनि त्यसपछि मूल्य एक्कासी घट्दै गएको बताउनु भयो । भारतको हिमाचल प्रदेशमा सात वर्ष बसेका बस्नेतले दुई वर्षको अनुभवपछि स्वदेश फर्किएर तरकारी खेती सुरु गर्नु भएको हो । वार्षिक आम्दानी करिब ७ लाख रुपियाँ भए पनि यो वर्ष घाटा खेप्नु परेको उहाँको भनाइ छ । कृषि उपज बजार केन्द्रका निवर्तमान अध्यक्ष टङ्क नेपालीका अनुसार यस वर्ष अधिकांश किसानले टमाटर मात्र लगाएका कारण बजारमा आपूर्ति अत्यधिक बढ्यो र मूल्य घटेको हो ।

बुटवलका तरकारी व्यापारी श्रवण कुमार बानियाले सल्यानमा उत्पादन बढी भएको र किसानहरूले हाइब्रिड जातका नयाँ टमाटर लगाएकाले पनि समस्या देखिएको बताउनु हुन्छ । गत वर्ष टमाटरको मूल्य किलोको १५० रुपियाँ पुगेको थियो भने यस वर्ष २२ देखि बढीमा ५५ रुपियाँ मात्र पुगेको कृषि उपज बजार केन्द्रका बजार व्यवस्थापक चन्द्रमणि खड्का बताउनु हुन्छ । यसैगरी, यस वर्ष बन्दा खेती गरेका किसानहरू थप मारमा परेको बताउँछन् । कपुरकोट-५, सिन्दुरिखोलाका किसान ज्ञान्द्र पुनले करिब दुई सय क्विन्टल बन्दा उत्पादन गरेको भए पनि बजार नपाएपछि सबै खेतमै कुहिएको गुनासो गर्नु भयो । त्यस्तै मुलपानीका डम्बर बुढाथोकीले १७ रोपनी भाडामा लिएर खेती गरेपनि बिक्री हुन नसकेपछि करिब ४० क्विन्टल बन्दा खेर गएको बताउनु भयो । उहाँले भन्नु भयो, “पुसमा रोपेको बन्दा असारसम्म जसोतसो टिकायौं, तर बजार नै नहुँदा बेच्नै पाइएन । पाँच रुपियाँ किलोमा पनि नबिकेपछि खेतमै कुहियो ।” 

कपुरकोटको बजारमा किसानहरूले यस वर्षको हालसम्म बन्दा गोभी किलोको १० देखि ५२, काउली २२ देखि ११०, सिमी २२ देखि १५०, भेडे खुर्सानी ६८ देखि १३० रुपियाँमा बिक्री गरेका छन्। गत वर्ष भने बन्दा प्रतिकिलो ९० रुपियाँसम्म, काउली १५० सम्म र सिमी १५० सम्म बिक्री भएको बजार व्यवस्थापक खड्काले जानकारी दिनुभयो । देशकै ठुला तरकारी बजारहरू मध्ये पर्ने कपुरकोट तरकारी हाटबजारमा ताजा तरकारी र फलफूल खरिदका लागि विभिन्न सहर बजारबाट व्यापारीहरू आउने गर्दछन् । गत वर्ष २०८१, असार देखि कार्तिकसम्म कपुरकोटमा मात्रै ५० करोड बढीको बेमौसमी ताजा तरकारीको कारोबार भएको थियो । वि.सं. २०४७ सालदेखि बेमौसमी ताजा तरकारी खेती हुँदै आएको कपुरकोट क्षेत्रमा हाल आएर करिब तीन हजार घरधुरीका किसानले व्यवसायिक रूपमा खेती गर्दै आएका छन् । गत असार २७ गतेदेखि यहाँ तरकारी हाटबजार सुरु भएको थियो । हप्ताको मङ्गलबार र शुक्रबार कपुरकोटमा तरकारी बजार लाग्ने गर्दछ भने शीतलबजार र बगालेमा पनि अन्य बारमा बजार लाग्ने गरेको बजार केन्द्रले जनाएको छ ।

यहाँका किसानहरूले विशेष गरी गोलभेडा, बन्दागोभी, फूलगोभी, घ्यूसिमी, बोडी, खुर्सानी, आलु, काँक्रो, स्कुस, मूला, गाजर, हरियो साग, भान्टा, हरियो केराउ आदि बेमौषमी ताजा तरकारी उत्पादन गर्ने गर्दछन् । फलफूलहरूमा सुन्तला, आरु, नास्पति, आरु बखडा, अनार, आँप, केरा आदि र मसलादार तरकारीहरूमा अदुवा, हरियो धनिया, प्याज, लसुन, खुर्सानी, टिम्मुर आदि उत्पादन गर्ने गरेका छन् । हिजोआज यहाँका पाखा बारी, खेत, काल्ना तथा खोला किनार जताततै लोभलाग्दो तरकारी खेती देख्न सकिन्छ । नेपालगन्ज, बुटवल, धनगडी, घोराहि, तुलसीपुर लगाएत विभिन्न ठाउँबाट व्यापारीहरू आएर तरकारी खरिद गरी लैजाने गरेको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ । कपुरकोटमा हाल स्थानिय र बाहिरी गरी करिब ५० जना व्यापारी तरकारी कारोबारमा सक्रिय छन् ।

सल्यानमा व्यावसायिक रूपमा तरकारी खेती गर्नेहरूको सङ्ख्या विस्तारै बढ्दै गएको देखिन्छ । युवा तथा महिलाहरू समेत मनग्य आम्दानी हुने भएपछि तरकारी खेतीतर्फ आकर्षित भएका छन् । स्थानीय सरकारदेखि विभिन्न सरकारी निकायले पनि तरकारी खेतीका लागि लगानी गरिरहेका छन् । तरकारी खेतीबाट यस क्षेत्रका किसानको आयआर्जनमा महत्त्वपूर्ण योगदान पुगेको छ । यहांँको तरकारी खेतीले राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा कपुरकोट र समग्र सल्यानलाई चिनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

एमाले केन्द्रीय कमिटी तीन सय एक सदस्यीय हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि...