काठमाडौं । बागलुङ नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थालाई लाखौं रुपियाँका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य संस्थालाई बलियो बनाइ आम नागरिकको स्वास्थ्यमा सहयोग पुर्याउने लक्ष्यसाथ फेयरमेड फाउण्डेशन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका परियोजना व्यवस्थापक समिता पुनले बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । फाउण्डेसनका अनुगमन अधिकृत सुजन पौडेलका अनुसार, बागलुङ नगरपालिका वडा ५ को मालिका स्वास्थ्य चौकीमा पेरीलाइट, इएनटी सेट, कलर बकेट, निडिल कटर, सर्जिकल ड्रम, रक्तचाप नाप्ने सेट, टाइमर सहयोग गरिएको हो ।
त्यस्तै, लहरेपिपल स्वास्थ्य चौकीलाई बिरामी बोक्टे स्टेचर, भकुण्डे स्वास्थ्य चौकीका लागि डेलीभरी सेट, अमलाचौर स्वास्थ्य चौकीलाई अपाङ्गमैत्री बनाइएकोले व्हीलचियर प्रदान गरिएको छ । नारायणस्थान स्वास्थ्य चौकीमा ७५ हजार रुपियाँ बराबरका अत्यावश्यक सामग्री र वासिङ मेसिन प्रदान अनुगमन अधिकृत पौडेलले जानकारी दिनुभयो । बागलुङ नगरपालिका वडा ११ स्थित रायडाँडा स्वास्थ्य चौकीमा ल्याब स्थापनाका लागि आवश्यक सामग्री दिइएको छ । ल्याब स्थापना भएकाले व्यवस्थित बनाएर नागरिकलाई स्वास्थ्य सेवा दिन चाहिने सबैखाले सामग्री प्रदान गरिएको हो । रायडाँडाँकै आफ्नो शहरी स्वास्थ्य एकाइमा अटोक्लेव ड्रम सहयोग गरिएको छ । रायडाँडाँकै तमाखुबारी स्वास्थ्य एकाइमा अनलाइन रेकर्ड गर्ने कम्प्युटर सेट र अटोक्लेब ड्रम प्रदान गरिएको छ ।
स्वास्थ्य संस्थालाई प्रदान गरिएको सामग्रीले नागरिकको स्वास्थ्य सेवा प्रभावकारी बन्ने अपेक्षा गरिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठले स्वास्थ्य क्षेत्रको आवश्यकता असीमित भएकाले दातृ निकायको साझेदारीमा नगरपालिकाले पनि लगानी बढाएर सेवा प्रवाहलाई चुस्त बनाउँदै लैजाने काम गरेको बताउनुभयो । परियोजनाले नगरपालिकालाई अपाङ्गमैत्री सहायता सामग्री पनि बितरण गरेको छ । व्हीलचियर, शौचालय चियर, सेतो छडीजस्ता अपाङ्गता भएका नागरिकलाई अत्यावश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको हो । सम्बोधन परियोजनामार्फत जिल्लाका दश वटै पालिकामा विभिन्न कार्यक्रम सञ्चालित छन् । केही समयअघि परियोजनामार्फत नै धौलागिरि अस्पतालको सहकार्यमा अनमीलाई ३६ दिने एसबिए तालिम दिइएको थियो । गोरखापत्र

