अन्नपूर्ण संरक्षण क्षेत्रमा तीन लाख पर्यटक

Published on

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष पर्यटक आगमनले नयाँ इतिहास रचेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा कुल दुई लाख ९९ हजार आठ सय ३० जना पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसमध्ये एक लाख २२ हजार दुई सय दुई जना विदेशी तथा एक लाख ७७ हजार छ सय २८ जना स्वदेशी पर्यटक रहेका छन् । एक्यापका अनुसार यो सङ्ख्या गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । सन् २०२४ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा करिब दुई लाख ६० हजार पर्यटक पुगेका थिए । पछिल्लो एक वर्षमा झण्डै ४० हजारले पर्यटक सङ्ख्या बढ्नुले क्षेत्रीय पर्यटन व्यवसाय र संरक्षण प्रयासमा सकारात्मक प्रभाव पारेको एक्यापले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलका अनुसार विदेशी पर्यटक आगमनमा भएको वृद्धि अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्र क्रमशः पुनरुत्थान हुँदै गएको संकेत हो । यसैबिच मनाङमा पर्यटक आगमन उत्साहजनक रूपमा वृद्धि भएको छ । संसारकै उत्कृष्ट पदमार्ग गन्तव्यहरूमध्ये एकका रूपमा परिचित चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा सन् २०२५ मा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । एक्याप मनाङको तथ्याङ्कअनुसार सन् २०२५ मा जम्मा ३८ हजार ७७ जना विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन् । यसमा १५ हजार २७० महिला, २२ हजार ७९७ पुरुष तथा अन्य लिङ्गका १० जना पर्यटक रहेका छन् । अघिल्लो वर्ष २०२४ मा भने ३० हजार ८६६ जनाले मनाङ भ्रमण गरेका थिए । २०२४ को तुलनामा २०२५ मा पर्यटक आगमन २३.३६ प्रतिशतले वृद्धि भएको छ । पदमार्ग, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विशेषताका कारण मनाङप्रति पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् । युरोप, अमेरिका, अस्ट्रेलिया, चीन, भारत, जापान तथा दक्षिण कोरियाबाट बढी सङ्ख्यामा पर्यटक आएको एक्यापको तथ्याङ्कमा उल्लेख छ । अन्नपूर्ण सर्किट पदमार्ग, तिलिचो ताल, थोराङ्ला पास, मनाङ उपत्यका तथा नार–फु क्षेत्र पर्यटकका मुख्य आकर्षण बनेका छन् ।

यसैगरी स्वदेशी पर्यटकको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढेको छ । आन्तरिक पर्यटन प्रवर्धन, सडक पहुँच सुधार, सामाजिक सञ्जालको प्रभाव तथा साहसिक पर्यटनप्रति बढ्दो चासोका कारण नेपाली पर्यटकको आकर्षण बढेको सरोकारवालाको भनाइ छ । विशेषगरी तिलिचो ताल र मनाङ क्षेत्र आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गर्छ । पर्यटक आगमनमा वृद्धिसँगै मनाङ, मुस्ताङ, कास्की, लमजुङ र गोरखा जिल्लाका स्थानीय बासिन्दाको आर्थिक क्रियाकलापमा सुधार आएको छ  । होटल, लज, रेस्टुरेन्ट, ट्रेकिङ गाइड, भरिया तथा यातायात व्यवसायमा आश्रित हजारौँ स्थानीयले प्रत्यक्ष रोजगारी र आम्दानीको अवसर पाएका छन् ।

यद्यपि पर्यटक सङ्ख्या बढ्दै जाँदा फोहोर व्यवस्थापन, जैविक विविधता संरक्षण, पानीका स्रोत र स्थानीय संस्कृतिको जगेर्ना चुनौतीका रूपमा देखिन थालेका छन् । एक्यापले स्थानीय तह, उपभोक्ता समिति र पर्यटन व्यवसायीसँग सहकार्य गर्दै दिगो पर्यटन व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ । एक्यापका अनुसार आगामी दिनमा पर्यटक सेवा सुधार, वातावरणमैत्री पूर्वाधार विकास तथा नियमको प्रभावकारी कार्यान्वयन गर्न सके अन्नपूर्ण संरक्षण क्षेत्रले अझ ठुलो सङ्ख्यामा पर्यटक आकर्षित गर्ने विश्वास लिइएको छ । यसले राष्ट्रिय अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...