पुस्तान्तरणको पुल बन्दै ठाडोभाका प्रशिक्षण

Published on

काठमाडौं । लोपोन्मुख हुँदै गएको गण्डकी प्रदेशको मौलिक पहिचान ‘ठाडोभाका’ अब पुस्ताबाट पुस्तामा सार्ने एउटा सशक्त पुल निर्माण हुँदैछ । दमौलीमा सुरु भएको तीन दिने ठाडोभाका प्रशिक्षणले पुराना स्वर, लय र अनुभूतिको विरासत नयाँ पुस्तासँग जोड्दै सांस्कृतिक उत्तराधिकारलाई जीवन्त बनाउने अभियानको रूप लिएको छ । व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा सञ्चालित यस तालिममा ६० जना प्रशिक्षार्थी सहभागी छन् । उनीहरू ठाडोभाकाको स्वरशैली, लय, शब्दको भाव र प्रस्तुति विधिमा गहिरो अभ्यास गर्दै आफ्नो सांस्कृतिक पहिचानलाई बुझ्न र बोकेर हिँड्न सिकिरहेका छन् । 

तालिममा सहभागी व्यास नगरपालिका-२ उत्तरशिला टोलका रुद्रबहादुर कुँवर क्षेत्री यो प्रशिक्षणले पुरानो भाकालाई नयाँ जीवन दिएको बताउनुहन्छ ।  “हामीले सानैदेखि सुनेको यो भाका हराउँदै जाँदै थियो, तर यहाँ आएर यसको गहिराइ बुझ्न पाएँ,” उहाँ भन्नुहुन्छ, “अब म यो विरासतलाई आफू मात्र होइन, अरूलाई पनि सिकाउन सक्ने आत्मविश्वास पाएको छु ।”व्यास नगरपालिका–६ शिसाघाटकी शुसिला दुराले तालिमले आफ्नो स्वर र आत्मबल दुवै बढाएको अनुभव सुनाउनुभयो । “पहिला लय समात्नै गाह्रो लाग्थ्यो,” उहाँ भन्नुहुन्छ, “तर अभ्यासपछि ठाडोभाकाको मौलिक धुन आफ्नै गलाबाट निस्कँदा गर्व हुन्छ, यसले हाम्रो क्षमता वृद्धि मात्र होइन, संस्कृति प्रतिको लगाव पनि बढाएको छ ।”अनुभवी गायक बुद्धिमान दुरा (धम्पु) सहित सिता दुरा, अक्कल बिरही गुरुङ र अनिता गुरुङको प्रशिक्षणले सहभागीहरूलाई ठाडोभाकाको शुद्धता, भाव र अनुशासनमा दख्खल दिलाइरहेको छ ।  गुरुहरूको प्रत्यक्ष मार्गदर्शनमा प्रशिक्षार्थीहरूले पुराना गीत, नयाँ अभ्यास र सामूहिक प्रस्तुति मार्फत भाकालाई आत्मसात गरिरहेका छन् ।

लमजुङ र तनहुँका गाउँबस्तीमा जन्मिएको यो भाकालाई जोगाएर भेडिखर्के साइँलोले पुर्‍याएकाे विरासत आज नयाँ पुस्ताको काँधमा हस्तान्तरण हुँदैछ । यही पुस्तान्तरणकै प्रक्रियाले ठाडोभाकालाई स्मृतिमा सीमित नराखी व्यवहार र प्रस्तुति मार्फत समाजमा पुनःस्थापित गर्ने विश्वास दिलाएको छ । तीन दिनसम्म चल्ने यस प्रशिक्षणले ६० सहभागीलाई केवल गायक मात्र होइन, संस्कृति बोकेका संवाहक बनाउने लक्ष्य लिएको छ । यही उत्साह, सीप र प्रतिबद्धताले ठाडोभाका अब समयसँगै हराउने होइन, पुस्ता–पुस्तामा बाँचिरहने जीवन्त सांस्कृतिक धरोहर बन्ने अपेक्षा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...