काठमाडौं । गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक कार्यक्रमबिच तम्घासमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो । जिल्ला समन्वय समितिको भवनमा निर्वाचन क्षेत्र नम्बर-१ को लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय कार्यालय स्थापना गरिएको हो। यहाँ मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधीश कृष्ण प्रसाद पौडेल रहनुभएको छ। निर्वाचन क्षेत्र नम्बर-२ को लागि जिल्ला शिक्षा, विकास तथा समन्वय इकाईको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
यस क्षेत्रको लागि निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधिवक्ता हरिहर पौडेल रहनुभएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, नागरिक समाजका अगुवा, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थित रहेको थियो। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यस जिल्लामा कूल दुई लाख २९ हजार ५४९ जना मतदाता कायम रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्क श्रीसले जानकारी दिनुभयो। जसमा महिला एक लाख १५ हजार २१० जना, पुरुष एक लाख १४ हजार ३३७ जना र अन्य दुई जना मतदाता छन्।
दुई निर्वाचन क्षेत्रमा १४५ मतदान स्थल र २८४ मतदान केन्द्र कायम गरिएको छ। जिल्ला कारागार गुल्मी र राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रमलाई अस्थायी मतदान केन्द्र कायम गर्न सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो। जिल्ला सुरक्षा समिति गुल्मीले निर्वाचन सुरक्षा योजना लागु गर्दै मतदानस्थलहरुको अनुगमन निरीक्षण गर्नुका साथै स्थानीयसँग साक्षात्कार समेत गर्दै आएको छ। गोरखापत्र

