काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक विचार गोष्ठी आयोजना गरिएको छ। छथर साहित्य समाजको आयोजनामा सम्पन्न सो कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। उहाँले छथर क्षेत्र बहुजातीय, बहुसांस्कृतिक र साहित्यिक दृष्टिले समृद्ध रहेको उल्लेख गर्दै यस्ता गोष्ठीहरूले स्थानीय पहिचान संरक्षण र साहित्यिक चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले जातीय विविधतालाई समाजको शक्ति ठानेर सहअस्तित्व, सहिष्णुता र साझा संस्कृतिको संरक्षण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। गोष्ठीमा विभिन्न वक्ताहरूले छथर क्षेत्रका जातीय संस्कार, भाषा, संस्कृति र साहित्यिक परम्पराका विषयमा कार्यपत्र प्रस्तुत गर्दै विचार–विमर्श गर्नुभएको थियो।
छथर साहित्य समाजका अध्यक्ष दिनेश थापाले स्थानीय साहित्यकार, बुद्धिजीवी र सरोकारवालाको उल्लेख्य सहभागिता रहेको जानकारी दिनुभयो। आयोजकले गोष्ठीले समग्र क्षेत्रका साहित्यिक र सांस्कृतिक चेतनामा सकारात्मक योगदान पु-याउने विश्वास व्यक्त गरेको छ।

