काठमाडौं । दार्चुलामा नेपाल प्रहरीका बहालवाला प्रहरी हवलदार मृत फेला परेका छन् । यहाँको जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरीमा कार्यरत अन्दाजी ३८/४० वर्षीय प्रहरी हवलदार योगेन्द्रसिंह घर्ती मृत फेला परेको महाकाली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिनुभयो । प्रहरी हवलदार घर्ती बाङ्गाबगड तल्लो बजारको पछाडी पट्टी मृत फेला परेको उहाँले बताउनुभयो । घटना सोमबार राति भएको हुन सक्ने र प्रहरी हवलदार घर्तीको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।
मृतक हवलदार घर्तीको टाउकोमा ४/५ वटा ठुलो घाउहरु रहेको प्रत्यक्षदर्शी एवम् वडा अध्यक्ष चुनाराले जानकारी दिनुभयो । घर्तीको चक्कु प्रहारबाट मृत्यु भएको हुन सक्ने उहाँले अनुमान गर्नुभयो । “मृतक प्रहरी हवलदार हाम्रै नजिकको भाइ हो, घटना शङ्कास्पद जस्तो देखिन्छ,’’ उहाँले भन्नुभयो । मृतक प्रहरी हवलदार दार्चुलाको महाकाली नगरपालिका–४ बिच बजारका स्थानीय भएको उहाँले बताउनुभयो । अहिले प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला पठाइएको बताइएको छ । यता घटनाबारे थप जानकारी लिन दार्चुलाका प्रहरी नायब उपरीक्षक गौरब महतलाई फोन सम्पर्क गर्दा उहाँको फोन रिसिभ हुन सकेको छैन । गोरखापत्र

