काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनको सुरक्षामा कुनै पनि किसिमको कमजोरी हुन नदिन सम्पूर्ण सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिनुभएको छ। महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनमा सुरक्षा संयन्त्रहरूबीच समन्वयमा देखिएका त्रुटि र कमजोरी दोहोरिन नदिन विशेष ध्यान दिन आग्रह गर्नुभयो। उहाँले यस निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न अघिल्ला निर्वाचनका अनुभव तथा वर्तमान सुरक्षा चुनौतीहरूको समग्र विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरेर त्रुटिरहित रूपमा काम गर्न निर्देशन दिनुभयो।
प्रधानमन्त्री कार्कीले नेपाल सरकारद्वारा स्वीकृत ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनालाई तोकिएका जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पन्न हुनेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पार्नुभयो। साथै, जनतालाई सुरक्षाको प्रत्याभूति दिनुका साथै सबै राजनीतिक दलका गतिविधि बिना अवरोध सञ्चालन हुने वातावरण निर्माण गर्न अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिनुभयो। बैठकमा नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा पृतनापतिहरूको सहभागिता रहेको थियो। बैठकको सुरुआतमा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत मन्तव्य दिँदै समग्र सुरक्षा व्यवस्थाबारे जानकारी गराउनुभएको थियो। बैठकमा सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, हालसम्म सम्पादन भएका कार्यको समीक्षा तथा आवश्यक सुझाव प्रस्तुत गर्नुका साथै समसामयिक विषयमा छलफल गरेका सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ।

