काठमाडौं । औषधी व्यवस्था विभागले आर्या फार्माल्याब प्रालिले उत्पादन गरेको ‘सुप्रोमोक्स सिभी बिड’ नामक औषधी तत्काल बजारबाट फिर्ता लिन निर्देशन दिएको छ। विभागले जारी गरेको सूचनाअनुसार उक्त औषधीको ब्याच नम्बर ‘एफएसबिडी १२०१६’ न्यून गुणस्तरको पाइएको छ। बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमुनालाई राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा उक्त ब्याचको औषधी तोकिएको गुणस्तर पूरा गर्न असफल भएको विभागले जनाएको छ।
औषधी ऐन, २०३५ को दफा १४ अनुसार सो ब्याचको औषधीको सिफारिस, बिक्री तथा वितरण तुरुन्त रोक्का गरी बजारबाट फिर्ता गर्न तथा फिर्ता गरिएको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग र तिनका प्रतिनिधिलाई निर्देशन दिइएको सूचनामा उल्लेख छ। साथै, विभागले उक्त ब्याच नम्बर उल्लेख भएका औषधीको प्रयोग नगर्न र नगराउन सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

