काठमाडौं । बुटवल उपमहानगरपालिका देशभरिका ११ उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा अगाडि देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजामा बुटवल उपमहानगर अरु उपमहानगरभन्दा बढी अङ्कसहित उत्कृष्ट भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको रिपोर्ट अनुसार बुटवल उपमहानगर ६४ दशमलब ४४ अङ्कसहित सबैभन्दा अगाडि छ । सबैभन्दा कमजोर भने इटहरी उपनगरपालिका छ । इटहरीले ३८ दशमलब ९६ अङ्क मात्र पाएको छ ।
सार्वजनिक तथ्याङ्क अनुसार दाङको दुई उपमहानगरमध्ये तुलसीपुर उपमहानगरपालिकाले ६१ दशमलब ५३ र घोराहीले ६१ दशमलब ०८ अङ्क पाएको छ । त्यसैगरी धरान उपमहानगरपालिकाले ४९ दशमलब ७६ अङ्क पाएको छ । आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्याङ्कन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको उल्लेख छ । यसैगरी आर्थिक वर्ष २०८१–८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे नगरेको समेत मूल्याङ्कनको सूचक मानिएको छ ।
त्यसैगरी बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेकोलाई समेत सूचक मानिएको छ । राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भजाँच गर्ने महिला अनुपात, एसइई परीक्षा नतिजा, खोप लगायतका सूचकलाई पनि मूल्याङ्कनको आधार बनाउने गरिएको आयोगको रिपोर्टमा उल्लेख छ । गोरखापत्र

