काठमाडौं । उपाधि दावेदार अस्ट्रेलिया आइसिसी टी–२० विश्वकपमा समूह चरणको आफ्नो दोस्रो खेलमा जिम्बाबेसँग पराजित भएको छ । श्रीलङ्काको कोलोम्बोस्थित आर प्रेमदासा मैदानमा शुक्रबार भएको खेलमा अस्ट्रेलिया जिम्बाबेसँग २३ रनले स्तब्ध बन्यो । अस्ट्रेलियाले टी–२० मा जिम्बाबेसँग १९ वर्षपछि हार खेपेको हो । यसअघि अस्ट्रेलिया सन् २००७ मा जिम्बाबेसँग पराजित भएको थियो । जितका लागि ए कसय ७० रनमो लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४६ रनमा समेटिएको थियो । अस्ट्रेलियाका लागि म्याट रेनशाले सर्वाधिक ६५ रन बनाउनुभयो । यस्तै ग्लेन म्याक्सवेलले ३१ र कप्तान ट्राविस हेडले १७ रन बनाउनुभयो । अस्ट्रेलियालाई सस्तोमा समेट्न जिम्बाब्बेका ब्लेसिङ मुजराबानी एक्लैले चार विकेट लिनुभयो । ब्राड इभान्सले तीन तथा वेलिङ्टन मसाकाड्जा र रायल बर्लले एक एक विकेट झार्नुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाबेले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ६९ रन बनाएको थियो । जिम्बाब्बेका लागि ओपनर ब्रायन बेनेटले अविजित सर्वाधिक ६४ रन बनाउनुभयो । यस्तै रायल बर्ल र तदिवानाश मारुमानीले ३५/३५ र कप्तान सिकन्दर राजा २५ रन बनाउनुभयो । बलिङमा अस्ट्रेलियाका मार्कस स्टोइनिस र क्यामरन ग्रीनले एक एक विकेट लिनुभयो । समूह ‘बी’ मा लगातार दोस्रो जितसँगै चार अङ्क बनाएको जिम्बाबे दोस्रो स्थानमा छ । समान चार अङ्क बनाएको घरेलु टोली श्रीलङ्का नेट रनरेटका आधारमा शीर्षस्थानमा छ । पहिलो हार खेपेको अस्ट्रेलियाको दुई अङ्क छ । आयरल्यान्ड र ओमानले अङ्कको खाता खोल्न सकेका छैनन । गोरखापत्र

