सुर्खेत–२ मा नयाँ समीकरण: परम्परागत प्रतिस्पर्धाबीच रास्वपाको चुनौती

Published on

काठमाडौँ । कर्णाली प्रदेशको राजधानी क्षेत्र समेटिएको सुर्खेत–२ मा वर्षौँदेखि नेपाली कांग्रेस र नेकपा (एमाले)बीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ। २०४८ सालदेखि यी दुई दलले आलोपालो जित्दै आएको यस क्षेत्रमा यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बलियो चुनौती प्रस्तुत गरेको छ। ७९ सालको निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ रास्वपाले प्राप्त गरेको मतका आधारमा यसपटक पार्टीले आफूलाई निर्णायक शक्तिका रूपमा प्रस्तुत गरेको छ। पुराना दलले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै विकल्पको राजनीति अघि सारेको रास्वपाले मतदातालाई आकर्षित गर्ने रणनीति अपनाएको देखिन्छ।

स्थानीय विश्लेषणअनुसार कांग्रेस र एमालेले आफ्नो सांगठनिक मत सुरक्षित राख्न नसके रास्वपालाई फाइदा पुग्ने सम्भावना छ। पछिल्लो समय मतदातामा परम्परागत दलप्रति असन्तुष्टि बढ्दै गएको धारणा सार्वजनिक रूपमा व्यक्त हुँदै आएको छ। सुर्खेत–२ का निर्णायक मतदाता वीरेन्द्रनगरमा केन्द्रित छन्। १७ जना उम्मेदवारमध्ये १६ जना वीरेन्द्रनगरकै हुनु यस क्षेत्रको राजनीतिक केन्द्र त्यहीँ रहेको संकेत हो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कविराम पुरी बाहेक सबै उम्मेदवार वीरेन्द्रनगरका हुन्। यसपटक प्रमुख दलहरूले नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन्। कांग्रेसबाट नारायण कोइराला, एमालेबाट कुलमणि देवकोटा, नेकपाबाट झकबहादुर मल्ल (सुदीप), रास्वपाबाट रमेश सापकोटा र राप्रपाबाट कविराम पुरी चुनावी प्रतिस्पर्धामा छन्।

कांग्रेस उम्मेदवार कोइराला रेडियो भेरीका अध्यक्ष तथा सुर्खेत उपत्यका विकास समितिका पूर्वअध्यक्ष हुन्। उनी कांग्रेसका क्षेत्रीय सभापतिसमेत भइसकेका छन्। एमाले उम्मेदवार देवकोटा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा लामो समयदेखि नेतृत्वदायी भूमिकामा सक्रिय छन् र पार्टीका जिल्ला अध्यक्ष हुन्। नेकपाका मल्ल केन्द्रीय सदस्य हुन् र माओवादी आन्दोलनकालदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका छन्। रास्वपा उम्मेदवार सापकोटा यातायात व्यवसायी तथा काँक्रेविहार यातायात प्रालिका अध्यक्ष हुन्। यसअघि कांग्रेसको वीरेन्द्रनगर नगर समितिका सचिव रहेका उनी हाल रास्वपाका जिल्ला सभापति छन्। राप्रपा उम्मेदवार पुरी पार्टीका जिल्ला अध्यक्ष हुन्।

राजनीतिक विश्लेषणअनुसार कांग्रेस पृष्ठभूमिबाट आएका सापकोटाले कांग्रेसको मत प्रभावित गरेमा एमाले लाभान्वित हुन सक्छ। तर, रास्वपाले कांग्रेस र एमाले दुवै दलबाट मत तान्न सके परिणाम फरक हुन सक्ने आँकलन गरिएको छ। गत निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका हृदयराम थानी ३४ हजार ६ सय २५ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका अमृतबहादुर बुढाक्षेत्रीले २९ हजार ५ सय ५८ मत प्राप्त गरेका थिए। त्यतिबेला रास्वपाका टेकबहादुर चुनाराले ४ हजार ६ सय १ मत ल्याएका थिए।

समानुपातिकतर्फ एमालेले २५ हजार ८६, कांग्रेसले २३ हजार १०, तत्कालीन नेकपा (माओवादी केन्द्र)ले १० हजार ५९, रास्वपाले ६ हजार १ सय ४६ र राप्रपाले ३ हजार ९ सय ७५ मत प्राप्त गरेका थिए। सुर्खेत–२ अन्तर्गत वीरेन्द्रनगरका १ देखि १४ वडा तथा बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका पर्दछन्। यसपटकको निर्वाचनमा परम्परागत शक्ति सन्तुलन कायम रहन्छ वा नयाँ राजनीतिक शक्ति उदय हुन्छ भन्ने विषयले क्षेत्रीय राजनीतिमा चासो बढाएको छ।

spot_img

ताजा समाचार

अमेरिकी सामरिक सपना ग्रिनल्यान्ड

काठमाडौं । सन् १९५१ मा नेटोको अगुवाइमा अमेरिका र डेनमार्कबीच भएको पारस्परिक रक्षा सम्झौता...

बसन्तसँगै ढकमक्क फुल्यो सिमल

काठमाडौं । “लागे चैतका महिना उराठिला बन्,सिमलको भुवा जस्तो उडिजाने मन”लोकसाहित्य र लोकभाकामा सिमलको...

पेचिलो निर्वाचनलाई सरल बनाएका छौं : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शताब्दीकै पेचिलो निर्वाचनलाई आयोगले...

गौरको अवस्था सामान्य बनाउन सर्वपक्षीय पहल, प्रशासनद्वारा कर्फ्यु जारी

काठमाडौँ । गौर सदरमुकामलगायत प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक...