काठमाडौं ।
“लागे चैतका महिना उराठिला बन्,
सिमलको भुवा जस्तो उडिजाने मन”
लोकसाहित्य र लोकभाकामा सिमलको चर्चा बारम्बार हुने गरेको पाइन्छ। त्यस्तै जनगायक जीवन शर्मा को शब्द, संगीत र स्वरमा रहेको बहुचर्चित गीत, “सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको, उमेर भइसक्यो असि, झन् ठुलो दुःखले घेरेको” ले पनि सिमलको सांस्कृतिक महत्त्वलाई उजागर गरेको छ। शिशिर याममा उराठिलो देखिने वनजङ्गलका बिच सिमलले मनको उदासी चिर्दै आशा जगाउने प्रतीकका रूपमा स्थान पाएको छ। साहुको भारी बोकेर थकित भरियालाई सिमली छायाँले शीतलता दिने सन्दर्भदेखि सामाजिक बन्धन तोडेर सिमलको भुवाजस्तै उड्ने चाहनासम्म, सिमल चौताराको महत्व लोकगीत र साहित्यमा झल्किएको छ। सिमल खेत, सिमल गरा, सिमलटार, ठुटे सिमल, सिमलकुना लगायतका स्थाननामहरू पनि सिमलसँगै जोडिएका छन्। बसन्त ऋतु नजिकिँदै जाँदा पहाडका थुम्कादेखि बेंसीका खोला–खोल्सासम्म राताम्य भएर ढकमक्क फुलेका अजंगका सिमलका रुख देखिन थालेका छन्। ठुला रुखमा फुल्ने राताम्य फूलले परिवेशलाई मनमोहक बनाइरहेका छन्। तराईका समथर भूभाग मात्र होइन, पहाडका गराहरू पनि सिन्दुरे बनेका छन्। त्यसैले सिमललाई ‘तराईको गुराँस’ भनेर पनि चिनिने गरिन्छ। बाक्लै सिमल भएका ठाउँमा यतिबेला फुल हेर्दै बसिरहूँजस्तो दृश्य देखिन्छ।
तर गाउँको पहिचान बनेका सिमलका रुखहरू पछिल्ला दिनमा विस्तारै घट्दै गएका छन्। रुखसँगै चराचुरुङ्गीका बासस्थान, तिनका चिरबिर र वन्य वातावरणसमेत घट्दै गएको देखिन्छ। सिमल अहिले काठ व्यवसायीको तारोमा परेको छ। यही गतिमा कटानी–फडानी भइरहेमा भविष्यमा सिमल गीतमा मात्र सीमित नहोला भन्न सकिन्न। विशाल आकार, सुन्दर फूल, जडीबुटी गुण र पन्छीहरूको बासस्थानका हिसाबले सिमल अत्यन्त महत्त्वपूर्ण मानिन्छ। तर यसको प्रकार, गुण र सम्भावनाबारे खासै अध्ययन–अनुसन्धान भएको देखिँदैन। रातोबाहेक अन्य रङका सिमल पनि पाइन्छन्, यद्यपि ती विरलै भेटिन्छन्। सिमललाई अंग्रेजीमा सिल्क–कटन ट्री, रेड–कटन ट्री वा कटन ट्री भनिन्छ। यसको फूलको बाहिरी आवरण गाढा खैरो–कालो रङको हुन्छ भने भित्रपट्टि गाढा रातो रङका पाँच पुष्पपत्र हुन्छन्। हल्का पहेंलो रङ मिसिएको फूल फुल्ने सिमल पनि पाइन्छ, तर यस्तो रुख दुर्लभ मानिन्छ। रातोबाहेक अन्य रङका सिमल औषधीय गुणका हिसाबले अझ उपयोगी मानिने गरिन्छ। सिमलले बस्तीलाई सुन्दर बनाउनुका साथै विभिन्न चराचुरुङ्गीको आश्रयस्थलका रूपमा काम गर्छ। दुर्लभ मानिएका गिद्ध प्रजातिदेखि सुमधुर आवाजमा गाउने चरासम्म सिमलमा आश्रित हुन्छन्।
सिमलको भुवा, बीउ र फल मात्र होइन, पूरै रुख बहुउपयोगी छ। यसको दाना पशुचौपायाका लागि आहारका रूपमा प्रयोग हुन्छ भने मानिसले पनि तरकारीका रूपमा सेवन गर्न सक्छन्। सिमलको जराको पाउडरले पिसाबसम्बन्धी समस्या समाधान गर्न सहयोग पुर्याउने, काण्डको पाउडर दम र प्रजनन स्वास्थ्यसम्बन्धी समस्यामा उपयोगी हुने, फूल र खोटो पेट दुख्ने तथा आउँ समस्यामा प्रयोग हुने जनविश्वास छ। पर्यावरणीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण सिमल संरक्षण, उत्पादन, प्रवद्र्धन र बजारीकरणसँग जोड्न सकिए वातावरण संरक्षणसँगै स्थानीय जीविकोपार्जनमा समेत टेवा पुग्ने देखिन्छ। गोरखापत्र

