१२ वर्षपछि बदलियो घुमाउने पुलको नक्सा

Published on

काठमाडौं । मुग्लिङनारायणगढ सडकखण्डको घुमाउनेबाट तनहुँ जोड्ने त्रिशूली नदीमाथिको पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । दुई वर्षअघि दुवैतर्फ पिल्लर ठड्याइए पनि बाढीका कारण नदीको सतह बढेपछि अहिले पुनः डिजाइन परिवर्तनको प्रक्रिया अगाडि बढाइएको छ ।दमौलीलाई चितवनसँग जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा लिइएको यस पुलको सम्झौता विसं २०७० असार २८ गते भएको थियो । सडक डिभिजन कार्यालय दमौलीका अनुसार २०८० सालको असोजमा आएको भीषण बाढीले सुरुको स्टिमेटभन्दा माथिको सतहलाई असर गरेपछि पुरानो ‘आर्क’ डिजाइनमा काम गर्न नसकिने देखिएको हो । सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इन्जिनियर राजेन्द्र कार्कीका अनुसार पहिले मुग्लिङको जस्तै आर्क पुल बनाउने योजना रहे तापनि आर्कको आधार बस्ने ठाउँमै बाढीले क्षति पुर्‍याएपछि डिजाइन परिवर्तन गर्नैपर्ने बाध्यता आइलागेको हो । 

निर्माण कम्पनीले गत वैशाखमा नयाँ डिजाइनको प्रस्ताव पेस गरेको छ जसमा अहिले बनिसकेका पिल्लरको उचाइ थप गरी स्टिलको संरचना वा स्ल्याप राख्ने गरी नयाँ नक्सा विभागमा अध्ययनको क्रममा छ । पुल निर्माणमा भएको ढिलाइले लागत र समय दुवै बढाएको छ भने सुरुमा लागत वृद्धिको विषयमा सडक विभाग र निर्माण कम्पनीबीच कुरा नमिले पनि अन्ततः कम्पनीकै लगानीमा परिवर्तित डिजाइन पेस गरिएको कार्की बताउनुहुन्छ । कार्कीका अनुसार हालसम्म यस योजनाको भौतिक प्रगति मात्र ३६ प्रतिशत रहेको छ र विसं २०८३ असार मसान्तसम्म निर्माण सक्ने गरी पछिल्लो पटक म्याद थप गरिएको छ । चितवनको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै दमौली पुग्न मुग्लिङ–आँबुखैरेनी सडकभन्दा २३ किलोमिटर दूरी छोटो पर्ने भएकाले नारायणगढबाट पोखरातर्फ जाने सवारी साधनका लागि यो निकै छिटो र वैकल्पिक मार्ग मानिन्छ ।

१०५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहने यो पुल १० करोड २१ लाख ८६ हजार ५५१ रुपियाँको लागतमा मृत सञ्जीवनी मकवानपुरले ठेक्का लिएको थियो । लामो समयदेखि पुल अलपत्र परेपछि स्थानीय बासिन्दाहरू अत्यन्तै आक्रोशित भएका छन् । बन्दीपुर गाउँपालिका–६ धरमपानी निवासी बिर्खमाया गुरुङका अनुसार पुल नबन्दा यस क्षेत्रको आर्थिक र सामाजिक विकास ठप्प भएको छ । पुल निर्माण सम्पन्न नभएसम्म आगामी निर्वाचनमा कुनै पनि दललाई भोट नहाल्ने र मतदान नै बहिष्कार गर्ने सम्मको निर्णयमा स्थानीय पुगेका छन् । पहाडी क्षेत्रका बस्तीलाई सडक सञ्जालसँग जोड्ने यो महत्वपूर्ण कडी भए पनि प्राविधिक ढिलासुस्ती र प्राकृतिक अवरोधका कारण सेवाग्राहीले लामो समयदेखि सास्ती भोगिरहनु परेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...