पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहितासम्बन्धी जिल्लास्थित क्रियाशील पत्रकारहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम धनकुटामा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आयोजना तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेश, विराटनगरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। अभिमुखीकरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा आचारसंहितासम्बन्धी व्यवस्था, सत्य–तथ्य र निष्पक्षता, पत्रकारिताको प्रतिबद्धता तथा आचारसंहिता पालना गर्नुपर्ने संस्था, निकाय र अधिकारीहरूका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले सहजीकरण गर्नुभएको थियो। तीन नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तह रहेको धनकुटा जिल्लामा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन्। जिल्लामा १ लाख १८ हजार ४२५ मतदाताले ११९ मतदानस्थलका १६६ मतदान केन्द्रबाट मतदान गर्न सक्ने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो।
मतपेटिकामा मतपत्रबाहेक अन्य सामग्री राख्न नपाइने, मतसंकेत गरिसकेपछि अरूलाई देखाउन वा सुनाउन नपाइने तथा मतदान प्रक्रियामा गोपनीयता कायम गर्नुपर्ने विषयमा जानकारी गराइएको थियो। सञ्चारकर्मीहरूले समाचार सम्प्रेषण गर्दा मिथ्या सूचना वा दुष्प्रचार गर्न नहुने विषयमा समेत छलफल गरिएको थियो। कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सम्पन्न कार्यक्रममा निर्वाचन कार्यालय धनकुटाका प्रमुख माधवप्रसाद अधिकारी तथा जिल्लास्थित क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो।

