काठमाडौं । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–३ निवासी ३७ वर्षीय सनम तामाङको बुधबार राति उपचारकै क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासक गौरव ढुङ्गेलका अनुसार तामाङलाई मंगलबार राति करिब १० बजे अचानक श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि विराटनगरस्थित कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा बुधबार राति पौने ११ बजे तामाङको मृत्यु भएको हो ।
प्रशासक ढुङ्गेलका अनुसार तामाङलाई स्वास्थ्यसम्बन्धी पुरानै समस्या थियो र उनले नियमित औषधि सेवन गर्दै आएका थिए । पछिल्लो पटक स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि काठमाडौँ रेफर गर्ने तयारीसमेत गरिएको थियो । बिहीबार बिहान काठमाडौँ लैजाने योजना बनाइए पनि त्यसअघि नै उनको मृत्यु भएको प्रशासनले जनाएको छ । तामाङ लागुऔषध मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका थिए । जिल्ला अदालत मोरङले उनलाई २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । अदालतको आदेशपछि २०८१ असोज १६ गते कारागार चलान गरिएका उनी २०८३ माघ २७ गते रिहा हुने क्रममा थिए ।जिल्ला कारागार मोरङमा हाल १ हजार १७५ जना कैदीबन्दी रहेका छन् । तीमध्ये १०२ जना महिला रहेको कारागार प्रशासनले जनाएको छ । गोरखापत्र

