पुगेनन् उम्मेदवार गोबरगाढा,मत हाल्न उत्साहित मतदाता

Published on

काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार अन्तिम चरणमा पुगेको छ । मौन अवधि सुरु हुन एक दिन बाँकी रहँदा उम्मेदवार घरदैलो गर्ने, सभा गर्नेदेखि जताततै आफ्ना प्रचार सामग्री झुन्डयाएर सहरबजार रङ्गीचङ्गी बनाएका छन् तर सप्तरीको गोबरगाढामा अहिलेसम्म न त कुनै उम्मेदवार मत माग्न पुगेका छन् न त त्यहाँ कुनै पार्टी वा उम्मेदवारको प्रचार सामग्री नै भेटिन्छ । चारैतिर कोशी नदीका भङ्गालोले घेरिएको सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढागाउँ भौगोलिक रूपमा विकट छ । सुक्खायाममै पनि दुई ठाउँमा डुङ्गा चढेर कोशी पार गर्नु पर्छ । बिचबिचमा डेढ÷दुई घन्टा पैदल हिँडेर पुगिने यस बस्तीका मतदाता भने मतदानका लागि पूर्ण रूपमा तयार र उत्साहित देखिएका छन् । सप्तरी निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने गोबरगाढामा एउटा मात्र मतदान स्थल छ । यहाँ महिला २९७ र पुरुष ४५१ गरी कुल ७४८ मतदाता छन् । चारैतिर कोशीको भङ्गालो र भारतीय सीमासँग जोडिएकाले यो मतदान स्थल अति संवेदनशील सूचीमा राखिएको छ । त्यसैले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको संयुक्त गस्ती टोली डुङ्गा चढेर गाउँ पुग्दै नियमित सुरक्षा निगरानी बढाइरहेको राजविराजस्थित बरख गणका गणपति प्रमुख सेनानी सोवितबहादुर चन्दले जानकारी दिनुभयो । 

बर्सेनि डुबान र आवतजावत, शिक्षा, स्वास्थ्य गोबरगाढावासीको मुख्य समस्या हो तर उहाँहरूको समस्या सुन्न अहिलेसम्म कुनै पनि उम्मेदवार गाउँमा आएका छैनन् । दुई ठाउँमा डुङ्गा चढेर नदी तर्नु, अनि लामो पैदलयात्रा गर्नुपर्ने बाध्यताकै कारण अहिलेसम्म कुनै पनि उम्मेदवार प्रचारप्रसारका लागि गाउँ नआएको स्थानीय बताउँछन् । गोबरगाढामा उम्मेदवार नपुगेकै कारण प्रचारप्रसार सामग्री जताततै झुन्ड्याइएको भेटिँदैन । शनिबार संयुक्त सुरक्षाकर्मीको टोलीसँगै रिपोर्टिङका लागि गोबरगाढामा पुग्दा अहिलेसम्म कुनै पनि उम्मेदवार मत माग्न नआएको स्थानीय सदानन्द सदाले बताउनुभयो । आवतजावत सहज नभएकाले उम्मेदवार प्रचारप्रसार गर्न गोबरगाढा नआएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “मत माग्न आउन सजिलो छैन त्यसैले उम्मेदवार यो गाउँमा देखिएनन् तर हामी मत हाल्न तयार छौँ ।” सुरक्षाकर्मीको नियमित गस्तीले गाउँमा निर्वाचनप्रतिको उत्साह बढाएको छ । सीमावर्ती र विकट भूगोल हुँदाहुँदै पनि शान्तिपूर्ण, भयरहित निर्वाचन हुने विश्वास व्यक्त गर्नुहुँदै मतदाता आफ्नो मताधिकार प्रयोग गर्न दृढ रहेको स्थानीय उनासनदेवी सदाको भनाइ छ ।  उम्मेदवार नआए पनि रुचाएको उम्मेदवारलाई मत दिने स्थानीय छोटकीदेवी सदाले बताउनुभयो । स्थानीय प्रभु यादवले भन्नुभयो, “उम्मेदवार मत माग्न नआए पनि आफूहरूको समस्यामा साथ दिने उम्मेदवारलाई मतदान गरिन्छ ।” कुल एक लाख १९ हजार ४३ मतदाता रहेको यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...