काठमाडौं । पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । अफगानीस्तान र पाकीस्तानले गत बुधबार रमजानको समापन र ईद अल-फितरका लागि एक हप्ताको युद्वविराम घोषणा गरी सोमबार मध्यरातसम्म अस्थायी युद्धविराम गर्न सहमत भएका थिए । विदेश मन्त्री दारले विज्ञप्ती जारी गर्दै पाकिस्तान आतङ्कवादलाई उन्मूलन गर्न दृढ प्रतिबद्ध रहेको बताउनु भएको छ । आइतवार, तालिबान सरकार र एक चिकित्सा स्रोतले कुनार प्रान्तमा पाकिस्तानले गरेको आक्रमणमा एक जनाको मृत्यु भएको बताएको छ । काबुलले आफ्नो क्षेत्रमा सीमापार आक्रमणको लागि चरमपन्थीलाई शरण दिएको इस्लामाबादको दाबीलाई लिएर अफगानिस्तान र पाकिस्तान महिनौँदेखि द्वन्द्वमा छन् । तालिबान अधिकारीले भने उक्त दावीलाई अस्वीकार गरेका छन् ।
गत सोमबार काबुलको लागुऔषध पुनः स्थापना केन्द्रमा पाकिस्तानी आक्रमण पछि ईदको युद्धविराम भएको थियो, जसमा अफगान अधिकारीले ४०० भन्दा बढीको ज्यान गएको बताएका थिए । फेब्रुअरीमा सुरु भएको झडप खाडी राज्यहरू र चीन लगायतको मध्यस्थता प्रयासबिच निरन्तर चलिरहेको जनाइएको छ । पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री शाहबाज सरिफले सोमबार अफगानिस्तानमा सैन्य कारबाही आतङ्कवाद विरुद्धको राष्ट्रिय संकल्प उल्लेख गर्नु भएको छ । गोरखापत्र

