काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ । सेवा सुरु भएसँगै अब उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. शुवास पौडेलका अनुसार सेवा प्रारम्भिक रूपमा परीक्षण चरणमा सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ विभागको अनुगमनपछि मात्र सेवा निःशुल्क रूपमा नियमित गरिने तयारी छ । “बिरामीले अब नजिकैबाटै सहज सेवा पाउने छन्, बाहिर जानुपर्ने खर्चसमेत घट्ने छ,” उहाँले भन्नुभयो। प्युठान नगरपालिका–२ का ५२ वर्षीय पहलमान विष्टको उपचार गर्दै सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । विष्ट विगत चार वर्षदेखि बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा डायलोसिस गराउँदै आउनुभएको थियो । अस्पतालमा हाल ८ वटा डायलोसिस मेसिन जडान गरिएका छन् । एक आपतकालीनसहित ६ शय्याबाट दुई सिफ्टमा सेवा सञ्चालन गरिने छ । एक बिरामीलाई सातामा २ देखि ३ पटकसम्म डायलोसिस आवश्यक पर्ने भएकाले हालको क्षमताले सातामा करिब ५ जनालाई मात्र सेवा दिन सकिने डा. पौडेलले बताए । एक बेड र दुई मेसिन ब्याकअपका रूपमा राखिएको छ । अहिलेसम्म ८६ जना बिरामीले सेवा लिन नाम दर्ता गराइसकेको अस्पतालले जनाएको छ । सेवा सञ्चालनका लागि कन्सल्टेन्ट फिजिसियनको नेतृत्वमा तालिमप्राप्त मेडिकल अफिसर र नर्सिङ टोली परिचालन गरिएको छ ।
डायलोसिस सेवा सञ्चालनमा ल्याउन लायन्स क्लब अफ प्यूठानको मुख्य लगानी रहेको छ । करिब एक करोड ७६ लाख रुपियाँ लागतको परियोजनामा ७५ प्रतिशत लगानी क्लबले बेहोरेको छ भने बाँकी २५ प्रतिशत जिल्लाका नौ वटै स्थानीय तहले सहयोग गरेका छन् । प्युठान उद्योग वाणिज्य सङ्घ तथा विभिन्न गैरसरकारी संस्थाले समेत सहयोग गरेका छन् । यसैबिच सेवा विस्तारका लागि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले ३ वटा मेसिनसहित आवश्यक सामग्री उपलब्ध गराएको अस्पताल स्रोतले जनाएको छ । गोरखापत्र

