काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनु भएको छ । उहाँले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको छ । त्यसको लगत्तै उहाँले सञ्चार मन्त्रालयमा पदभार ग्रहण गर्नु भएको छ । अष्ट्रेलियाका ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्नु भएका तिमल्सिना शिक्षा तथा सञ्चार क्षेत्रमा दीर्घ अनुभव भएका व्यक्तित्वका रूपमा चिनिनु हुन्छ। उहाँ विगत १५ वर्षदेखि सञ्चार, अनुसन्धान तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आउनु भएको छ ।
पत्रकारिताबाट आफ्नो करिअर सुरु गर्नुभएका तिमल्सिना करिब एक दशकअघि रेडियो सगरमाथामा कार्यक्रम उत्पादक तथा प्रस्तोताका रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यसक्रममा उहाँले समसामयिक विषय, विकास तथा सामाजिक सरोकारका मुद्दामा केन्द्रित कार्यक्रम सञ्चालन गर्नु भएको थियो । उच्च शिक्षाका लागि अष्ट्रेलिया गएपछि उहाँले त्यहाँबाट सञ्चालित ‘नेपाल एक्सप्रेस’ मा कार्यकारी सम्पादकका रूपमा काम गर्दै प्रवासी नेपाली समुदायका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउनु भयो । साथै, सिड्नीबाट सञ्चालन हुने ‘साउथ एसिया डट कम डट एयू’ मा सम्पादकीय सल्लाहकारको भूमिका निर्वाह गर्दै क्षेत्रीय विषयवस्तुमा विश्लेषणात्मक सामग्री उत्पादनमा संलग्न हुनुभयो ।
राजनीतिमा सक्रिय हुँदै तिमल्सिना पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट–१ बाट निर्वाचित भएको हो । सञ्चार क्षेत्रको अनुभव र अन्तर्राष्ट्रिय अध्ययनका आधारमा उहाँले मन्त्रालय सम्हालेसँगै सूचना प्रविधि तथा मिडिया नीतिमा सुधार ल्याउने अपेक्षा गरिएको छ । नवनियुक्त मन्त्री तिमल्सिनाबाट प्रेस स्वतन्त्रता सुदृढीकरण, डिजिटल सञ्चारको व्यवस्थित नियमन तथा सरकारी सञ्चार संयन्त्रको आधुनिकीकरणमा प्रभावकारी पहल हुने विश्वास गरिएको छ । गोरखापत्र

