काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ । रङ्गशालाको प्रवेशद्वार देखि प्यारापिट सम्म जिर्ण अवस्थामा पुगेको भएपनि त्यसको जिर्णोद्धारप्रति कुनै निकायले चासो लिएको छैनन् । सात हजार दर्शक अटाउने क्षामताका राजरङ्गशालाको २०३६ सालमा निर्माण भएको थियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कैयौं खेलाडी उत्पादन गर्न सफल यो रङ्गशालाको जिर्ण अवस्था हेरेर खेलाडी तथा खेलप्रेमी चिन्तित भएका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीको मुल गेटकै पुर्वपट्टी रहेको रङ्गशालाको प्रवेशद्वार जिर्ण भएर ढल्ने अवस्थमा पुगिसकेको छ । यस्तै रङ्गशालको पूर्वतर्फ रहेको प्यारापिट पनि जिर्णभई कुनैपनि बेला ढल्न सकिने अवस्थमा छन् । तर, देशमा तीन तहको सरकार हुँदा पनि रङ्गशालाको कायापलट हुने गरी ठोस योजना ल्याएर पुनर्निमाण गर्न सकेको छैन् ।
धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सफल रङ्गशालाको अविलम्ब मरमत संभार तथा संरक्षण हुनुपर्ने जिल्ला फुटबल सङ्घ सप्तरीका महासचिव रमेश श्रेष्ठले बताउनुभयो । रङ्गशाला जिर्ण भएकै कारण खेलाडीहरु अभ्यास गर्न नपाएको उहाँको गुनासो छ । “एकातिर रङ्गशाला जिर्ण भएको कारण जोखिम बढाएको छ, अर्को मैदान भित्रको फोहोर मैला पनि व्यवस्थापन हुन नसक्दा खेलाडीको अभ्यास समेत प्रभावित भएको छ” उहाँले भन्नुभयो । तत्कालिन सगरमाथा अञ्चलकै सदरमुकाम रहेका राजविराजको प्रतिष्ठा संग जोडिएको एतिहासिक रङ्गशाला जोखिमपुर्ण र बेहाल अवस्थामा हुनु दुर्भाग्यपुर्ण भएको भन्दै यसको संरक्षणका लागि गम्भिर बन्नुपर्ने बताउनुहुन्छ पुर्व खेलाडी एवं सप्तरी उद्योग बाणिज्य सङ्घका निवर्तमान अध्यक्ष अरुण प्रधान । सात हजार दर्शक अटाउने रङ्गशालाको प्यारापिट अहिले ठाउँठाउँमा भत्केर ठूलठूला प्वाल परिसकेको र त्यसले दुर्घट्नाको जोखिम बढाएको छ । रङ्गशालाको प्यारापिट मुनी बर्षौंदेखि विभिन्न व्यक्तिले कब्जा गरेर बसोबास गर्दै आएका छन् । प्यारपिटमुनीको अतिक्रम तथा संरक्षणका लागि सम्बन्धित निकायले चासो नदिदा मैदान अहिले दिशा पिसाव गर्ने, गाई बस्तु चराउने र सवारी साधन चलाउन सिक्ने थलोको रुपमा परिणत भएको छ ।
विकासको नाममा नयाँ संरचना निर्माण भईरहँदा पुरानो संरचनाको संरक्षणतिर सरोकारबाला निकायहरुको मौनताले रङ्गशाला यो अवस्थामा पुगेको हो । जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख टंक प्रसाद मंडल रङ्गशालाको स्तरोन्नतीको योजना लिएर पटक–पटक राष्ट्रिय खेलकुद परिषद् तथा खेलकुद मन्त्रालयमा बजेट विनियोजनको लागि पहल गरेपनि आश्वासन बाहेक केही नपाइएको बताउनुभयो । दुई विगहा सात कठ्ठा चार धुर क्षेत्रफल जग्गामा रहेको रङ्गशालाको पुनर्निमाणका लागि आवश्यक बजेट हुँदा यो अवस्थामा पुगेको उहाँले बताउनुभयो । गोरखापत्र

