काठमाडौं । सरकारले वैशाख १५ गतेबाट भर्ना र २१ गतेबाट पठनपाठन गर्ने भनेपछि स्याङ्जाको फेदीखोलाले वैशाख २ गतेबाटै भर्ना र ९ गतेबाट पठनपाठन गर्ने भएको छ । फेदीखोलाले वैशाख २ देखि ७ गतेसम्म विद्यार्थी भर्ना अभियान र ९ गते देखि नियमित पठनपाठन गराउने भएको हो । फेदीखोला गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको र सोही अनुसार आवश्यक तयारी गर्न गराउन भनेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । सोही बमोजिमका वार्षिक शैक्षिक योजना र क्यालेन्डर बनाएर पठनपाठन गराउने तयारी गरेको हो ।
संविधान र कानुन अनुसार आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार भएको सुवेदीले बताउनुभयो । पालिकाले संघीय सरकारलाई शिक्षा सम्बन्धी निर्णयमा स्थानीय तहसँग पूर्वपरामर्श गर्न, स्थानीय सन्दर्भ अनुसार निर्णय गर्न, परिपत्रलाई मार्गनिर्देशक मात्र बनाउन र तीन तहबीच समन्वय सुदृढ गर्न सुझाव दिएको छ । गोरखापत्र

