काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास तथा पश्चिम नेपालमा सरदरभन्दा उत्तरतर्फ रहेको छ।
हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बागमतीसहित केही प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा भारी वर्षा पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज रातिसमेत मौसम बदली रहने र कोशी, बागमती, गण्डकी तथा सुदूरपश्चिमका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले नदी–खोला आसपासका बासिन्दा, यात्रु तथा पहाडी सडक प्रयोगकर्तालाई सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

