काठमाडौँ – लगातारको वर्षाका कारण सप्तरीका विभिन्न क्षेत्रमा बाढी पसेपछि ५०० घर डुबानमा परेका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न बस्तीमा बाढी पस्दा दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा बाढी पसेको हो ।
हनुमाननगर कङ्कालिनी नगरपालिका-५, ७, १२ र १३ का बस्तीमा बाढी पस्दा ४८३ घर डुबानमा परेका छन् । त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिका-४ र ५ मा बाढी पस्दा थप १७ घर डुबानमा परेका छन् । दुवै स्थानीय तहमा गरी करिब ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी मानिस प्रभावित भएको जनाइएको छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीका अनुसार शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पस्न थालेको हो । नदीमा पानीको बहाव बढेसँगै आसपासका बस्तीमा बाढीको जोखिम बढेको र कतिपय घरमा पानी पसेको उनले बताएका छन् ।बाढीबाट प्रभावित परिवारका लागि तत्काल राहत तथा खाद्यान्नको व्यवस्था गरिएको नगरप्रमुख माझीले बताएका छन् । उनका अनुसार प्रभावित परिवारलाई बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरिएको छ । पानीको सतह केही कम भएपछि प्रभावित परिवारको पहिचान गरी आवश्यकताका आधारमा थप राहत सामग्री उपलब्ध गराउने तयारी गरिएको छ ।
लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको सतह बढिरहेकाले नदी आसपासका बस्तीमा जोखिम कायमै रहेको छ । बाढी प्रभावित क्षेत्रमा स्थानीय तह तथा सम्बन्धित निकायले अवस्था अनुगमन गरिरहेका छन् भने प्रभावित परिवारलाई सुरक्षित रहन आग्रह गरिएको छ ।

