बडादसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

Published on

काठमाडौँ, असोज २९ गते  । बडादसैँको पाँचौँ दिन बिहीबार नवदुर्गाभवानी स्कन्दमाताको पूजाआराधना गरिँदै छ । भगवान् शिव र माता पार्वतीका ज्येष्ठ पुत्र कार्तिकेय (स्कन्द) की माता भएकाले उहाँको नाम ‘स्कन्दमाता’ रहन गएको हो । देवी स्कन्दमाताको स्वरूप अत्यन्तै ममतामयी र शान्त छ । उहाँको वाहन सिंह हो । उहाँका चार वटा हात छन् । दायाँतर्फको माथिल्लो हातमा बालक स्कन्द (कार्तिकेय) लाई काखमा राख्नुभएको छ । तल्लो हातमा कमलको फूल छ । बायाँतर्फको माथिल्लो हात वरमुद्रामा छ भने तल्लो हातमा कमलको फूल छ । कमलको आसनमा बस्ने भएकाले उहाँलाई ‘पद्मासना देवी’ पनि भनिन्छ ।

पौराणिक कथा अनुसार तारकासुर नामको शक्तिशाली राक्षस थियो । उसले ब्रह्माजीको कठोर तपस्या गरी ‘मेरो मृत्यु केवल शिवजीको पुत्रको हातबाट मात्र होस्’ भन्ने वरदान माग्यो । तारकासुरलाई थाहा थियो कि सतीदेवीको आत्मदाहपछि शिवजी गहिरो वैराग्य र ध्यानमा लीन हुनुहुन्छ, त्यसैले उहाँको विवाह र पुत्र हुने सम्भावना छैन । वरदान पाएपछि तारकासुर अमरसरह भयो । उसले तिनै लोकमा अत्याचार मच्चाउन थाल्यो । उसले देवतालाई स्वर्गबाट भगाइदियो । पीडित भएका सबै देवता ब्रह्माजी र विष्णु भगवान्को शरणमा गए ।

देवताहरूको प्रार्थना र लोककल्याणका लागि माता पार्वतीले कठोर तपस्या गरी भगवान् शिवसँग पुनः विवाह गर्नुभयो । शिव र पार्वतीको तेजबाट कुमार कार्तिकेय (स्कन्द) को जन्म भयो । बालक स्कन्दलाई युद्धको कला सिकाउन र योग्य बनाउन माता पार्वतीले स्वयम् संहारकारी रूप छाडेर ममतामयी माताको रूपधारण गर्नुभयो । माताको यही ममतामयी रूप स्कन्दमाता कहलियो । पछि स्कन्द (कार्तिकेय) ले देवताका सेनापति बनी तारकासुरको वध गरेर तिनै लोकलाई भयमुक्त बनाउनुभयो । 

स्कन्दमाताको पूजा गर्दा भक्तका सबै इच्छा पूरा हुने र परमशान्ति (मोक्ष) मिल्ने विश्वास गरिन्छ । देवीको काखमा बालक स्कन्द विराजमान हुने भएकाले सन्तान सुख नभएका दम्पतीले उहाँको पूजा गर्दा सन्तान प्राप्ति हुने धार्मिक मान्यता छ । स्कन्दमाताको आराधना गर्दा मूर्ख व्यक्ति पनि ज्ञानी बन्छ भन्ने विश्वास छ, किनभने उहाँलाई ज्ञानकी देवी सरस्वतीका रूपमा पनि कतिपय स्थानमा पुजिन्छ । बडादसैँलाई दुर्गापक्ष पनि भनिन्छ । बडादसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । यी नौ वटा दुर्गाका स्वरूपलाई नवदुर्गा भनिन्छ ।

spot_img

ताजा समाचार

ध्रुव राठी : युट्युबबाट सडक आन्दोलनसम्म

काठमाडौं । भारतका चर्चित युट्युबर तथा राजनीतिक टिप्पणीकार ध्रुव राठी पछिल्लो समय सामाजिक सञ्जालबाट...

कोकाकोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी

काठमाडौँ- अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग...

कांग्रेस दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन्। निर्वाचन...

सुदूरपश्चिमको ३७ अर्ब ७० करोडको बजेट प्रमाणीकरण, सरकारी खर्चको बाटो खुल्यो

धनगढी । सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश प्रमुख नजिर मियाँले...