काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल र अष्ट्रेलियाबीचको छ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अष्ट्रेलियामा रहेका नेपाली समुदायको योगदान तथा नेपाली विद्यार्थीको हितलगायत विषयमा छलफल भएको छ।
भेटका क्रममा आगामी जलवायु सम्मेलन कोप–३१ का सन्दर्भमा नेपालको जलवायु एजेन्डालाई अष्ट्रेलियाले समर्थन गर्ने विषयमा समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ। विशेषगरी हिमालय संरक्षण, जलवायु उत्थानशीलता अभिवृद्धि तथा प्रभावकारी पूर्वचेतावनी प्रणाली स्थापना गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको हो।
नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउँदै आएको छ। जलवायु जोखिम न्यूनीकरण र विपद्पूर्व तयारीका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयलाई भेटवार्ताले महत्त्व दिएको जनाइएको छ।

