ट्रम्पद्वारा चीनसहित १४ देश तथा क्षेत्रमा नयाँ भन्सार शुल्क लगाउने घोषणा

Published on

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिलाई थप कडा बनाउँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ। प्रस्तावित नयाँ शुल्कअनुसार चीनबाट आयात हुने वस्तुमा सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममा ३५ प्रतिशतसम्म तथा अन्य देशबाट आयात हुने वस्तुमा २० देखि २५ प्रतिशतसम्म भन्सार शुल्क लगाइनेछ। नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ। बीबीसीका अनुसार नयाँ भन्सार शुल्क चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारतमा लागू गर्ने प्रस्ताव गरिएको छ।

अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पले यसअघि घोषणा गर्नुभएको ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चमा विभिन्न देशका व्यापारिक अभ्यासबारे अनुसन्धान सुरु गरेको थियो। सोही अनुसन्धानका आधारमा नयाँ शुल्क घोषणा गरिएको हो। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ भन्सार शुल्कले अमेरिकी श्रमिकका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने र विश्व अर्थतन्त्रलाई थप दिगो दिशातर्फ अघि बढाउने दाबी गर्नुभएको छ।

उहाँले अमेरिकाका व्यापारिक साझेदारहरूले दशकौँदेखि उत्पादन, ज्याला तथा श्रम व्यवस्थापनलाई लक्षित गरी अपनाएका औद्योगिक रणनीति र बजार प्रभावित पार्ने अभ्यासले अमेरिकी उत्पादन आधार कमजोर बनाएको आरोप लगाउनुभएको छ। यस्ता अभ्यासले व्यापार सन्तुलन अन्य देशको पक्षमा पारिरहेको उहाँको भनाइ छ। भन्सार शुल्क भनेको विदेशबाट आयात हुने वस्तुमा सरकारले लगाउने कर हो। सामान्यतया आयातित वस्तुको मूल्यको निश्चित प्रतिशतका आधारमा यस्तो शुल्क निर्धारण गरिन्छ। आयातकर्ताले सरकारलाई बुझाउने भए पनि यसको अतिरिक्त लागत अन्ततः उपभोक्तासम्म पुग्न सक्ने सम्भावना रहन्छ।

यद्यपि, ट्रम्प प्रशासनले केही देशसँग यसअघि नै व्यापारिक सहमति गरेकाले प्रस्तावित शुल्कका केही दर प्रभावकारी रूपमा कम हुन सक्नेछन्। विभिन्न देशका लागि फरक–फरक शुल्क दर निर्धारण गरिने जनाइएको छ। अर्थशास्त्रीहरूले भने नयाँ भन्सार शुल्कले मुद्रास्फीति बढाउन सक्ने चेतावनी दिएका छन्। आयात लागत बढेपछि व्यवसायीले त्यसको भार उपभोक्तामाथि सार्दा बजारमा वस्तु तथा सेवाको मूल्य वृद्धि हुन सक्ने उनीहरूको भनाइ छ। यसले अन्तर्राष्ट्रिय व्यापारमा समेत संकुचन ल्याउन सक्ने विश्लेषण गरिएको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकी उत्पादन वृद्धि, रोजगारी सिर्जना र व्यापार घाटा कम गर्ने उद्देश्यले पटक–पटक भन्सार शुल्क लगाउने नीति अघि सार्दै आउनुभएको छ। अमेरिकाले अन्य देशबाट आयात गर्ने वस्तुको कुल मूल्य र विदेशमा निर्यात गर्ने वस्तुको कुल मूल्यबीचको अन्तर घटाउने उहाँको प्रमुख लक्ष्य रहेको छ। मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कमजोर नतिजा हासिल गरे पनि ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता दिनुभएको छ। नयाँ शुल्क घोषणाले अमेरिका र उसका प्रमुख व्यापारिक साझेदारबीचको आर्थिक सम्बन्धमा थप प्रभाव पार्न सक्ने देखिएको छ।

spot_img

ताजा समाचार

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं - सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम...

आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

काठमाडौं – आज नोभेम्बर २५ तारिख अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस ।...

पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित हुँदै नेपाल एसिया कप राइजिङ स्टार्सबाट बाहिरियो

काठमाडौं – एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित...

भोटेकोशी बाढी प्रभावितलाई राहत वितरण गर्न सङ्घीय सरकार प्रतिबद्ध: मन्त्री तिमिल्सिना

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत...