बढ्दो कोरिया ‘क्रेज’

Published on

काठमाडौं । दक्षिण कोरियाले पछिल्लो समय नेपालीलाई पहिलो प्राथमिकतामा राखेर श्रमिकको माग गर्न थालेको छ । यससँगै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको सङ्ख्या पनि बढ्दो छ । सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८४८ जनाका लागि माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आवेदन पर्नुले पनि यसलाई पुष्टि गर्छ । दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ । त्यसै अनुसार यस पटक सबैभन्दा धेरै कोटा नेपालले पाएको छ । सन् २०२४ मा माग भएको भाषा परीक्षामा एक लाख ६३ हजार ६३५ जना सहभागी भएका छन् । सोही अवधिमा चार हजार ७०५ जना नेपाली श्रमिक कोरिया गएका छन् ।

दक्षिण कोरियाले पछिल्लो समय कृषि तथा पशुपालन, उत्पादन, निर्माण, सेवा र पानीजहाज निर्माण क्षेत्रमा नेपालबाट श्रमिक लैजाने प्रक्रिया अघि बढाएको छ । इपिएस प्रणालीबाट १६ वटा देशबाट श्रमिक लैजाने गरेको दक्षिण कोरियाले यस अन्तर्गत सबैभन्दा धेरै श्रमिक नेपालबाट छनोट गरिरहेको छ । इपिएसमार्फत आवेदन दिएका सबै आवेदकको भाषा परीक्षा कारियाली प्रतिनिधिको सहभागितामा हुने गरेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाका अनुसार आर्थिक वर्ष २०७९र८० मा इपिएस भाषा परीक्षा उत्तीर्ण गरेर नेपालबाट २२ हजार र चालु आव २०८०र८१ पहिलो सात महिनामा लगभग नौ हजार नेपाली इपिएसमार्फत दक्षिण कोरिया पुगेका छन् । इपिएस कोरिया शाखाका अनुसार डेढ दशकको अवधिमा एक लाख पाँच हजार ९७३ नेपालीले दक्षिण कोरियामा रोजगारी पाएका छन् । जसमा ९६ हजार ७०५ पुरुष र नौ हजार २६८ महिला छन् । सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत नेपाली श्रमिकलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको हो ।

सन् २००८ देखि २०२३ सम्म सञ्चालित भाषा परीक्षामा झन्डै आठ लाख २८ हजार ६२६ युवाले सहभागिता जनाएका थिए । सन् २००७ मा नेपाल र दक्षिण कोरियाबिच इपिएसमार्फत नेपाली श्रमिक लैजाने विषयमा जिटुजी सम्झौता सम्पन्न भएलगत्तै सन् २००८ देखि नै कोरियाले कोटा छुट्याएर नेपाली श्रमिक लैजाँदै आएको हो । सन् २००८ मा ८१ महिलासहित दुई हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएका थिए । उक्त वर्ष ३१ हजार ५२५ जना भाषा परीक्षामा सहभागी भएका थिए भने ३०८ महिलासहित छ हजार ४०६ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । कोरिया सरकारले बर्सेनि नेपाली श्रमिकको कोटा बढाउँदै आएको छ । कोरिया सरकारले इपिएसमार्फत सन् २०२३ देखि नेपालबाट प्रत्येक महिना लगभग दुई हजारका दरले नेपाली श्रमिक लैजाने सङ्केत गरेको छ । अन्य मुलुकको तुलनामा आकर्षक सेवा सुविधाका कारण पनि दक्षिण कोरिया नेपाली युवाको आकर्षक श्रम गन्तव्यमा परेको इपिएस शाखाका निर्देशक मैयाँ कँडेलको भनाइ छ । सन् २०२० र २०२१ मा कोभिडका कारण दक्षिण कोरिया जानेको सङ्ख्या न्यून देखिन्छ ।

आकर्षक सुविधा

दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण नेपाली श्रमिकलाई कृषि र औद्योगिक क्षेत्रमा रोजगारीका लागि लैजाने गरेको छ । खाडी मुलुकमा जस्तो श्रमिकले अनावश्यक झन्झट बेहोर्नु नपर्ने र आकर्षक तलब सुविधाका कारण पनि कोरिया नेपाली कामदारको रोजाइमा पर्दै आएको छ । कोरिया सरकारले विभिन्न दुर्घटनामा परेका श्रमिकका लागि बिमाबापतको क्षतिपूर्ति दिने गरे पनि कुनै श्रमिकको असामयिक मृत्यु भएमा उनीहरूले कुनै राहत पाउँदैनथे । अब भने कार्यस्थलमा मृत्युवरण गरेका श्रमिकका परिवारले आर्थिक सहायता प्राप्त गर्ने कोरिया सरकारले निर्णय गरेको छ ।

अहिले नेपाली श्रमिकले मासिक तीन लाख ५० हजारदेखि पाँच लाखसम्म पारिश्रमिक पाउँदै आएका छन् । त्यस्तै सुरक्षित गन्तव्य, कामको सुनिश्चितता श्रमिक र रोजगारदाताको कार्य सम्झौता, वैधानिकता र अधिकार स्थापित हुने, काम गर्ने अवधिको निश्चितता (चार वर्ष १० महिना) पुनः कोरिया जान सकिने, तेस्रो पक्ष र दलालको गुन्जायस नहुनेलगायत कारणबाट कोरिया जान इच्छुक नेपालीको सङ्ख्या बढ्दै गएको इपिएस शाखाका निर्देशक कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल र कोरिया सरकारबिच कोरियामा काम गरिरहेका श्रमिकले आफ्नो करार अवधिमा कम्तीमा पनि एक पटक परिवारलाई कोरिया लैजान सक्ने सहमति भइसकेको छ । जस अनुसार अहिलेसम्म केही श्रमिकका परिवार कोरिया गइसकेका छन् ।

कोरियाली भाषा उत्तीर्ण भएका सबैलाई कोरियाले श्रमिकका रूपमा लैजाने सुनिश्चित भने हुँदैन । रोजगारदाताको छनोटमा नपरेका केही युवा भाषा परीक्षामा सफल भए पनि कोरिया जानबाट वञ्चित हुन सक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिनुभयो । अधिकारीका अनुसार इपिएस अन्तर्गत जाने नेपाली श्रमिकको औसत मासिक साढे तीन लाखदेखि पाँच लाख नेपाली रुपियाँ हुन्छ । कम्पनीको सुविधा र अतिरिक्त समय काम गर्ने अवसरमा नेपाली श्रमिकको आम्दानी फरक पर्ने इपिएसमार्फत कोरिया गएर काम गरेर फर्केका विकास पौडेलको अनुभव रहेको छ । इपिएसमार्फत दक्षिण कोरिया गएर चार वर्ष १० महिना काम गरेर फर्किएका कोरियामा काम गर्ने नेपालीले १५ देखि २५ प्रतिशत रकम त्यहाँ खर्च गरेर बाँकी बचत गर्न सम्भव भएको बताउँछन् ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...