लालपुर्जाको आसमा पचास वर्ष

Published on

काठमाडौं । वीरेन्द्रनगर नगरपालिका–१० स्थित पठान टोलमा विसं २०२४ देखि बस्दै आएका भीमबहादुर सुनार ७२ वर्षका भए । पाँच दशकभन्दा बढी समय बसोबास गरेको ठाउँको लालपुर्जा नहुँदा सुकुमवासीको परिचय फेरिएको छैन ।

कहिलेकाहीँ भीमबहादुरलाई लाग्छ, दलित भएकै कारण पनि उपेक्षामा परियो । उहाँलाई यस्तो किन पनि लाग्छ भने पठान टोलको सिङ्गै बस्ती दलित समुदायको छ । जग्गाधनी पुर्जा नभएकै कारण विभिन्न सेवाबाटसमेत वञ्चित हुनु परेको तितो अनुभव उहाँसँग छ । भीमबहादुर जस्तै पठान टोलका ११७ परिवारसँग जग्गाधनी पुर्जा छैन । पछिल्लो समय पठान टोलका सुकुमवासीलाई पुर्जा वितरणका लागि प्रयास भइरहेका छन् । पठान टोलसँगै अन्य भूमिहीन नागरिकलाई स्थायी पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइएको वडाध्यक्ष डिलबहादुर रखालले जानकारी दिनुभयो । उहाँका अनुसार वडाभर एक हजार २३२ घरधुरी पुर्जाविहीन छन् । वडाले उनीहरूको विवरण सङ्कलन गरिसकेको छ । जग्गाधनी पुर्जा नहुँदा आर्थिक कारोबार गर्न समस्या हुने गरेको छ । जग्गाधनी पुर्जा नहुँदा बसिरहेको जमिनमा व्यवस्थित र सुरक्षित घर बनाउन नसकेको स्थानीय अम्मरबहादुर कामीले बताउनुभयो । त्यति मात्र होइन कुनै व्यवसायका लागि आवश्यक रकम जोहो गर्न ऋण लिनसमेत नसकिएको उहाँले जानकारी दिनुभयो । कामीका अनुसार बिजुलीको मिटर जोड्नसमेत समस्या भइरहेको छ । पठान टोलका करिब नौ वटा घरधुरीले धरौटी रकम बुझाउन नसकेका कारण बिजुलीको मिटर जोड्न पाएका छैनन् ।

सुकुमवासी बस्ती अस्थायी भएको भन्दै अन्य पूर्वाधारको विकासका योजना नपार्ने गरेको लगायत समस्या भोगिरहेको सोही बस्तीका शुक्रबहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार धेरै अवसरबाट वञ्चित हुनु परिरहेको छ । पठान टोल समूहका संयोजक रनेबहादुर सुनारले आफूहरू न्यायको पहुँचमा पुग्न नसकेको बताउनुभयो । अशिक्षा, गरिबीलगायतका कारण आधारभूत आवश्यकता परिपूर्तिका लागि यहाँका युवा रोजगारीको खोजीमा भारत जाने गरेका छन् । सुनारका अनुसार बस्तीमा गुणस्तरीय बिउ, मल, आधुनिक कृषिका उपकरण र थप सरकारी स्रोतसाधनमा पहुँच पुग्न सकेको छैन । एकातिर पुर्जा नहुँदा राज्यले प्रदान गर्ने सेवा लिनबाटै पठान टोलका नागरिक वञ्चित छन् । अर्कोतर्फ जनचेतना र सामाजिक पहुँचको अभावका कारण पनि थप समस्या झेलिरहेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच नभएको स्थानीय सुशीला विकले बताउनुभयो । गाँस र बासकै चिन्ता हुने गरेकाले आधारभूत आवश्यकताबाटै वञ्चित भइरहेको उहाँको भनाइ छ ।

नगर प्रमुख मोहनमाया ढकालका अनुसार वीरेन्द्रनगर नगरपालिकाले लक्षित वर्ग विशेष कार्यक्रममा जोड दिएको छ । चालु आर्थिक वर्षमा लक्षित वर्ग विशेष कार्यक्रम सञ्चालन गरिएको छ । वडा तहबाट ती कार्यक्रम सञ्चालन गरिने छ । प्रत्येक वडामा रहेका विपन्न तथा लक्षित समुदाय पहिचान गरेर सोही अनुरूपको सिपमूलक तालिम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...