पशुपतिको भेटी चोरी प्रकरण : ढोडारीको घरबाट छ लाख बरामद

Published on

काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका एक कर्मचारीको घरबाट प्रहरीले छ लाख रुपियाँ बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशवराज थेबेका अनुसार कोषका नायब सुब्बा नवराज ढोडारीको घरबाट भेटी चोरी गरेर सङ्कलन गरेकै ठाउँबाट छ लाख रुपियाँ बरामद गरिएको हो । डिएसपी थेबेले भन्नुभयो, “घरको तलासी लिँदा नगद बरामद भएको हो ।” जेठ ७ गते नासु ढोडारीसहित आठ जनालाई नियन्त्रणमा लिए पनि पाँच जनामाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । मन्दिरका ब्राह्मण नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सञ्जय कपाली र कुमार परियारमाथि जेठ ८ गते म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । अन्य तीन जना भेटी चोरीमा संलग्न नदेखिएपछि प्रहरीले छोडिदिएको छ । पशुपति क्षेत्र विकास कोषको सिसिटिभी निगरानीका क्रममा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षका मुख्य कर्मचारी ढोडारीसहितका कर्मचारीले लुकाएर लाने गरेको खुलेको थियो ।

मन्दिरभित्रै पक्राउ परेका अभियुक्तले प्रहरीसँगको बयानमा पदाधिकारीकै संरक्षणमा चोरीमा संलग्न भएको बयान दिएपछि कोषाध्यक्ष नारायणप्रसाद सुवेदी पनि तानिनुभएको छ । डिएसपी थेबेले अनुसन्धानका क्रममा नाम आएका व्यक्तिमाथि बयान लिन सक्ने र संलग्न देखिएमा आवश्यक कारबाही हुने प्रस्ट पार्नुभयो । वर्षायाम सुरु भएपछि कोषले भेटी अलपत्र हुने भएकाले संस्कृति संरक्षण महाशाखाका कर्मचारीलाई २०८० जेठ १६ गते पूर्ण रूपले गणना गर्नेलाई १५ दिनको र अतिरिक्त समयमा काम गर्नेलाई १० दिनको तलब सुविधा दिने गरी खटाएको थियो । तर कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूहरूले निरन्तर काम गरेको बयान पक्राउ परेका अभियुक्तले दिएका छन् । बाजा बजाउने कर्मचारी अनिल परियारको दाबी छ, “नारायण सुवेदी सर हुनुहुन्छ, उहाँले भनेर हामीले गरेको हो । परियारको बयानमा ‘सिसिटिभी छ, हामी यस्तो काम नगर्ने भन्दा, केही हुँदैन, कसैले देख्दैन गर गर’ भनिएको छ । कोषाध्यक्ष सुवेदीलाई २०७८ मा तत्कालीन पर्यटनमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले नियुक्त गर्नुभएको हो । एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगमा पनि सुवेदी हुनुहुन्थ्यो । यस सम्बन्धमा सुवेदीले केही बोल्न चाहनु भएन ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...