बाह्रबिसे–तातोपानी सडक स्तरोन्नतिका लागि चीन तयार छ : राजदूत छन

Published on

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सङ्ले बाह्रबिसे–तातोपानी सडकखण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताउनुभएको छ । मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापनबारे चिनियाँ राजदूतका पदाधिकारीसहित तातोपानी भन्सार कार्यालयमा बुधबार बेलुका भएको सर्वपक्षीय छलफलमा राजदूत छनले उक्त सडक स्तरोन्नति गर्न चीन तयार रहेको बताउनु भएको हो । नेपालले पनि सडक सुधारका लागि बजेट विनियोजन गरेको सन्दर्भमा दुवै देशले मिलेर बाटो बनाउन सकिने उहाँले बताउनुभयो । पहिरो खसेको स्थान तथा सडकका अन्य भागको अध्ययनका लागि चिनियाँ प्राविधिक आउने जानकारी राजदूत छनले दिनुभयो । चीनबाट अत्याधुनिक उपकरण ल्याएर निर्माणमा सघाउने उहाँले बताउनुभयो । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सांसद माधव सापकोटाले उक्त सडक स्तरोन्नतिका लागि रु एक अर्ब २० करोड विनियोजन गरेको जानकारी दिँदै दुवै देशले मिलेर काम गर्न प्रस्ताव गर्नुभएको थियो ।

छलफलमा सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन श्रेष्ठले नेपालले तयार गरेको सडक स्तरोन्नतिको विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । छलफलमा प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा रुपक सापकोटा, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनोर्बु शेर्पा, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, भन्सार कार्यालयका प्रमुख, डिभिजन सडक कार्यालयका कर्मचारीको उपस्थिति थियो । विसं २०७२ को भूकम्पपछि बन्द भएको तातोपानी नाका २०८० भदौ १५ गतेदेखि खुलेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत असोजमा भएको चीन भ्रमणका क्रममा उक्त नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतिका सन्दर्भमा चिनियाँ पक्षसँग पटकपटक छलफल भए पनि कार्यान्वयन हुन सकेको छैन । यद्यपि बुधबारको छलफलमा चिनियाँ पक्षबाट सकारात्मक जवाफ आएको थियो । रासस

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...