टी–२० विश्वकप : नेपाल र अमेरिकाबिचको ‘वार्मअप’ खेल वर्षाका कारण रद्द

Published on

काठमाडौं । आइसिसी टी–२० विश्वकप अन्तर्गत नेपालको दोस्रो तथा अन्तिम ‘वार्मअप’ खेल भारी वर्षाका कारण रद्द भएको छ । अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी मैदानमा बिहीबार तय भएको खेल लगातार वर्षा भएपछि रद्द भएको हो । घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ रोज्नासाथ भारी वर्षा सुरु भएको थियो । नेपालका लागि विश्वकप अघि यो नै अन्तिम अभ्यास खेल थियो । विश्वकपअघि आइसिसीले तय गरिदिएको पहिलो ‘वार्मअप’ खेलमा भने नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो । वर्षाका कारण बिहीबार अमेरिकासँगको खेल रद्द भएपछि नेपाली टोलीले मस्ट्याङ क्रिकेट एकेडेमीको इन्डोर हलमा अभ्यास गरेको थियो । यसअघि अभ्यास खेलमा चोट बोक्नुभएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकासँगको खेलका लागि फिट हुनुभएको थियो । उहाँको पुनरागमनले नेदरल्यान्ड्सविरुद्धको खेलमा टोलीलाई उत्साह थपेको छ ।

एक महिनाअघि विश्वकप तयारीका लागि अमेरिका आइपुगेको नेपालले यसअघि अमेरिका र वेस्ट इन्डिजमा तयारी गरेको थियो । नेपालले टेक्सासको ह्युस्टन र वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा स्थानीय टोलीसँग केही अभ्यास खेल पनि खेलेको थियो। नेपालले खेलेको ६ अभ्यास खेल मध्ये चार खेलमा जित निकालेको थियो । नेपालले अब सिधै विश्वकप खेल्नेछ । नेपालले डालासमै नेदरल्यान्ड्ससँग जेठ २२ गते खेल्दै विश्वकपको सुरुवात गर्नेछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ । २० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...