लुम्बिनीका चार जिल्लामा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिने

Published on

काठमाडौं । बाँकेलगायत लुम्बिनी प्रदेशका चार जिल्लामा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सडक स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिने भएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग जिल्ला स्वास्थ्य कार्यालय बाँके र जिल्ला ट्राफिक कार्यालय बाँकेको समन्वयमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सडक दुर्घटना हुने चार जिल्ला बाँके, दाङ, रुपन्देही र पाल्पामा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । सोहीअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताउनुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरण गरी दुर्घटनाबाट हुने मानवीय क्षति घटाउन र घाइतेको उपचारको प्रबन्ध मिलाउनका लागि स्वास्थ्य कार्यालयको समन्वयमा लुम्बिनी प्रदेश सरकारले चार जिल्लामा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्न लागेको बताउनुभयो ।

यसबाट दुर्घटनामा हुने क्षति कम गर्न ठुलो सहयोग मिल्ने र घाइतेहरूले तत्काल उपचार पाउने जनाइएको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले ट्राफिक कार्यालय बाँकेसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको सडक स्वास्थ्य सहायता कक्षबाट दुर्घटनाको क्षति न्यूनीकरणमा ठुलो सहयोग मिल्ने बताउनुभयो । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सडक दुर्घटना हुने चार जिल्ला बाँके, दाङ, रुपन्देही र पाल्पामा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्न लागिएको जनाउँदै यसअन्तर्गत चालक र सहचालकको नियमित स्वास्थ्य परीक्षण लगायतका कार्यगरी सडक दुर्घटनाबाट हुने मृत्यु, घाइते, अङ्गभङ्ग हुने कार्य न्यूनीकरण गर्न सहयोग मिल्ने बताउनुभयो ।

सडक सुरक्षाको लागि सबैभन्दा बढी महत्त्वपूर्ण कुरा लामो दूरी तथा छोटो दूरीका चालक सहचालकको स्वास्थ्य अवस्था कस्तो छ त्यसमा भरपर्ने जनाइएको छ । अधिकांश चालक सहचालकको आकस्मिक स्वास्थ्य परीक्षण गर्दा आँखाको हेर्ने शक्ति, उच्च रक्तचाप जस्ता समस्या भएको पाइएको जनाउँदै जिल्ला ट्राफिक कार्यालयले चालक नै अस्वास्थ्य भएपछि सडक सुरक्षित नहुने जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको वैशाखको अन्त्यसम्म बाँकेमा भएका १३३ वटा सडक दुर्घटनाको घटनामा परेर ६० जनाले ज्यान गुमाएका छन् भने १८९ जना घाइते भएका छन् । गोरखापत्र

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...