भारवाङमा मोटरेबल पुल निर्माण

Published on

काठमाडौं । पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत म्याग्दीको भारवाङघाटस्थित म्याग्दी नदीमा मोटरेबल पुल निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका गाउँपालिका–७ र धवलागिरि गाउँपालिका–७ को सिमाना भएर बग्ने म्याग्दी नदीमाथि छ मिटर चौडाइ र ४० मिटर लामो सिङ्गल स्पाम प्रि स्टेस प्रविधिको मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणसँगै धवलागिरि गाउँपालिका–५ मल्कबाङ र ६ मराङका स्थानीयलाई गाउँपालिका केन्द्र मुना जानआउन सहज भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो । पहुँचमार्ग निर्माणलाई पूर्णता दिन बाँकी रहेको पुलमा सवारीसाधन आवतजावत गर्न थालेका छन्, उहाँले भन्नुभयो, यो पुलले धवलागिरिको ५, ६ नं वडामा पर्ने मराङ र मल्कबाङवासीलाई घुमाउरो सडक प्रयोग गरेर गाउँपालिकाको केन्द्र मुना जानुपर्ने बाध्यता हटेको छ । मराङका बासिन्दा हाल मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार हुँदै मुना जाने घुमाउरो सडक प्रयोग गर्छन् । पुलले मालिका गाउँपालिका–७ का बिमवासीलाई पनि ताकम, मुनालगायतका बस्तीमा आवतजावत गर्न सहज हुनुका साथै दूरी छोटिएको छ ।

म्याग्दीखोलामा पुल बनेसँगै पुलबाट ताकम गाउँसम्मको सडक स्तरोन्नति गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने जनाएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार सो पुल निर्माणका लागि विसं २०७६ साउन ८ गते देव एण्ड सायर बिएन जेभीसँग रु छ करोड ९६ लाख ४३ हजार तीन सय ५३ मा ठेक्का सम्झौता भएको थियो । पुलको सबै संरचना निर्माण सम्पन्न भई पहुचमार्गको निर्माण थालिएको र जेठभित्रमा पूर्ण रूपमा यातायात सञ्चालन गर्न मिल्ने उहाँले बताउनुभयो । निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले कोरोना महामारीका कारण पुल निर्माणमा ढिला भए पनि दोस्रोपटक थपिएको म्याद २०८१ असार मसान्तभित्र पुल निर्माण सम्पन्न भएको बताउनुभयो । बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत मालिका गाउँपालिका–७ को शिवरात्रि खोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का आह्वान गरेको छ । सङ्घीय र प्रदेश सरकारको साझेदारीमा सोही सडक स्तरोन्नति गर्न आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुनेगरी रु ९२ करोडको योजनाका लागि बजेट व्यवस्थापन भएको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार दरवाङ–धारापानी खण्डको छ किलोमिटर ग्राभेल र धारापानी–शिवाङ खण्डको चार किलोमिटर कालोपत्र गर्न यस वर्ष ठेक्का सम्झौताको तयारी भएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...