विकासे बजेटमा जनप्रतिनिधिको मनोमानी

Published on

काठमाडौं । कालीकोटका स्थानीय तहका जनप्रतिनिधिले विकासका कामको बजेट आफूखुसी खर्च गर्ने गरेका छन् । विकासे बजेटमा जनप्रतिनिधिले हस्तक्षेप गरी खर्च गर्ने गरेको पाइएको छ । यहाँको खाँडाचक्र नगरपालिकाले आर्थिक वर्ष २०७९\८० मा खाना र नास्तामा मात्रै ७० लाख रुपियाँ खर्च गरेको देखिएको छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ विपरीत नगरका ११ वटै वडाले ४० लाख ५८ हजार रुपियाँ र नगरपालिका कार्यालयले ३० लाख रुपियाँ गरेर विविध खर्च शीर्षकमा खानाबापत ७० लाख ५८ हजार खर्च गरेको महालेखा परीक्षकको गत जेठ १२ गते सार्वजनिक भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखाको प्रतिवेदनमा यस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्नु नियमविपरीत भएको पनि उल्लेख गरेको छ । नगरपालिकाले राना जनरल स्टोरलाई मात्र ८५ हजार रुपियाँ भुक्तानी गरेको छ । सो स्टोरलाई किन भुक्तानी गरियो भन्ने कुरा स्पष्ट नपारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सामाजिक अभियन्ता हिक्मतजङ्ग मल्लले मदिराजन्य वस्तुको भुक्तानीसमेत खानामा जोड्ने गरेकाले त्यस्ता स्टोर तथा किराना पसलको भुक्तानीले स्पष्ट गरेको दाबी गर्नुभयो । उहाँले विकासे बजेटमा जनप्रतिनिधिको मनोमानी बढिरहेको भन्दै महालेखा परीक्षकको प्रतिवेदनलाई आधार मानेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउनुपर्ने माग गर्नुभयो ।

यस्तै निर्वाना होटललाई नगरपालिकाले चार लाख ८८ हजार ८०९ रुपियाँ भुक्तानी गरेको छ भने अन्य बजेट भुक्तानी कसलाई गरेको भनेर भुक्तानी गरिएका फाइलमा कुनै प्रमाण नभेटिएको पनि उल्लेख गरिएको छ । विविध शीर्षक राखेर ७० लाख रुपियाँ खर्च गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको बजेटबाट सहयोग, चन्दा, दान दिन नहुने उल्लेख छ । खाँडाचक्र नगरपालिकाले कुनै पनि कार्यविधि र मापदण्ड नबनाई विभिन्न संस्था, समूह, व्यक्तिलाई आठ लाख ९६ हजार सहायता शीर्षकमा खर्च गरेको देखिएको छ । इन्धन खर्चमा पनि जथाभाबी खर्च गरिएको छ । नगरपालिकाले २१ लाख ४४ हजार रुपियाँ इन्धनमा खर्च गरेको छ । भ्रमण खर्चमा २२ लाख ९० हजार ८५० रुपियाँ खर्च गरेको छ । प्रायः जनप्रतिनिधि र कर्मचारी घर भेटघाट, राजनीति दलको कार्यक्रममा जिल्लाबाहिर जाँदा भ्रमण आदेश भर्ने र भुक्तानी लिने गरेको पाइएको छ ।

जनप्रतिनिधिले लिन्छन् पेस्की

उक्त नगरपालिकाका वडाध्यक्षदेखि नगरप्रमुख तथा उपप्रमुखले पेस्की बजेट लिनेदेखि विभिन्न नाममा नियमविपरीत खर्च गर्ने प्रवृत्तिले यहाँका स्थानीयमा निराशा उत्पन्न गराएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ विपरीत वडाध्यक्षले पेस्की लिने, खर्च गर्ने र ऐनमा भएको व्यवस्थाविपरीत उनीहरूले आफैँ राजस्व आम्दानी उठाई दाखिला गर्ने गरेका छन् । नगरपालिकाभित्रका वडा नं। २, ४, ५, ६, ८, ९, १० र ११ वडाका अध्यक्षहरूले पेस्की लिने र आफैँले विभिन्न सामान खरिद गर्ने गरेको महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । वडा नं. २ का अध्यक्ष कवीन्द्र शाहीले एक लाख ५० हजार, वडा नं. ४ का अध्यक्ष प्रभानन्द आचार्यले तीन लाख, वडा नं. ५ का अध्यक्ष देउराम बमले तीन लाख, वडा नं. ६ का अध्यक्ष दिनेशबहादुर शाहीले ५० हजार, वडा नं. ८ का अध्यक्ष नन्दबहादुर मल्लले एक लाख ५० हजार, वडा नं. ९ का अध्यक्ष वीरजित विष्टले एक लाख, वडा नं. १० का अध्यक्ष डिलबहादुर शाहीले तीन लाख र वडा नं. ११ का अध्यक्ष देवराज भारतीले एक लाख ५० हजार पेस्की लिएको उल्लेख छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...