दुई हेभिवेट टिम फ्रान्स र बेल्जियम भिड्दै

Published on

काठमाडौं । युरोपेली च्याम्पियनसिप–२०२४ को प्रिक्वाटरफाइनलमै दुई उपाधि दाबेदार फ्रान्स र बेल्जियमको सामना हुँदै छ । यी दुई छिमेकी राष्ट्र विश्वका दुई हेभिवेट फुटबल टिम हुन् । फिफा फुटबल वरीयतामा फ्रान्स दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन् । यद्यपि यी दुवै टिमले चालु प्रतियोगितामा आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकेका छैनन् । फ्रान्सका कप्तान तथा प्रमुख स्ट्राइकर किलियन एमबापेले पनि एक गोल मात्र गर्नुभएको छ । त्यो पनि पोल्यान्डविरुद्ध उहाँले पेनाल्टीमा सफलता पाउनुभएको थियो । कतारमा भएको विश्वकपमा आठ गोलसहित गोल्डेन बुट जित्ने एमबापेले युरोमा त्यही लय देखाउन सक्नुभएको छैन । यस प्रतियोगितामा फ्रान्सको अग्रपङ्क्तिमा खेल्ने शैलीलाई लिएर पनि आलोचना भइरहेको छ ।

बेल्जियम समूह चरणको अन्तिम खेलमा युक्रेनसँग गोलरहित बराबरीमा रोकिएर अगाडि बढेको हो । सो खेलमा युक्रेन धेरै पटक जितको नजिक पुगेको थियो तर बेल्जियम भाग्यशाली साबित भयो । पछिल्ला दुई युरोमा दाबेदारका रूपमा पुगे पनि बेल्जियम क्वाटरफाइनलबाटै बिदा भएको थियो  । फ्रान्स र बेल्जियम सन् २०१८ को विश्वकप सेमिफाइनल र सन् २०२१ मा नेसन्स लिगमा आमनेसामने भएका थिए । दुवै पटक फ्रान्सले बाजी मायो । यी दुईबिच भएको पछिल्ला छ भिडन्तमा बेल्जियमले एक खेल मात्र जितेको छ । बेल्जियमविरुद्धको खेलमा फ्रान्सका अनुभवी मिडफिल्डर एन्टोनियो ग्रिज्म्यानले पहिलो रोजाइमा खेल्ने अपेक्षा गरिएको छ । पोल्यान्डविरुद्धको खेलमा उहाँलाई आराम दिइएको थियो । बेल्जियमविरुद्ध एमबापेलाई लेफ्ट विन्गमा खेलाउने सम्भावना पनि छ । पछिल्लो युरोमा फ्रान्स स्विट्जरल्यान्डसँग टाइब्रेकरमा हारेर अन्तिम १६ बाट बिदा भएको थियो । सो टाइब्रेकरमा गोल गर्न नसक्ने फ्रान्सका खेलाडी एमबापे मात्र हुनुहुन्थ्यो ।

पोर्चुगल–स्लोभेनिया

क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सोमबार क्वाटरफाइनलमा स्थान बनाउन स्लोभेनियासँग खेल्ने छ । पोर्चुगलले सुरुका दुई खेलमा चेक गणतन्त्र र टर्कीलाई हराएर यस प्रतियोगितामा राम्रो सुरुआत गरेको थियो । तर तेस्रो खेलमा पोर्चुगलले पहिलो रोजाइका केही खेलाडीलाई विश्राम दियो । त्यसको फाइदा उठाउँदै नवप्रवेशी जर्जियाले पोर्चुगललाई २–० ले स्तब्ध पारेको थियो । त्यसैले स्लोभेनियाविरुद्ध खेल्दा पोर्चुगललाईसो हारको दबाब हुने छ ।

स्लोभेनिया स्वतन्त्र भएपछि ३२ वर्षमा पहिलो पटक प्रमुख प्रतियोगिताको नकआउट चरण खेल्दै छ । युरो २०००, विश्वकप २००२ र २०१० मा स्लोभेनिया समूह चरणबाटै बिदा भएको थियो । स्लोभेनियाले यस पटक तीन बराबरीमा खेलेर उत्कृष्ट तेस्रो टिमका रूपमा नकआउट चरणमा पुगेर इतिहास बनाएको हो । स्लोभेनियाविरुद्धको खेलमा रोनाल्डो सबैको नजरमा हुनुहुने छ । यसपालि रोनाल्डो अहिलेसम्म गोलविहीन छ । फिफा विश्व वरीयतामा पोर्चुगल छैटौँ र स्लोभेनिया ५७ औँ स्थानमा छ । यद्यपि स्लोभेनियाले पोर्चुगलविरुद्ध जितको स्वाद चाखिसकेको छ । गत मार्चमा भएको मैत्री खेलमा स्लोभेनियाले पोर्चुगललाई २–० ले हराएको थियो । पछिल्लो एक वर्षमा स्लोभेनियाले १५ खेल खेल्दा मात्र एक खेल हारेको छ । त्यसैले पनि पोर्चुगललाई स्लोभेनियाविरुद्धको खेल अपेक्षा गरे जस्तो सहज हुने छैन । एपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...