कर्णालीमा हवाई तथा सडक यातायात अवरुद्ध

Published on

काठमाडौं । मौसममा खराबी आएपछि कर्णालीका मुगु, जुम्ला, डोल्पा र हुम्लामा हवाईसेवा ठप्प छ । यहाँ पाँच दिनदेखि जहाजले उडान भर्न सकेको छैन । यस्तै कर्णाली करिडोर र भेरी करिडोर पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध छ । सल्यान हुँदै रुकुमपश्चिम आउने यातायात सेवासमेत ठप्प छ । निरन्तर पानी परेपछि मुगुका लागि बाँकेको नेपालगञ्जबाट उडान हुनसकेको छैन । वर्षाका कारण नेपालगञ्जबाट हवाई उडान हुन नसकेको रारा हवाई नागरिक उड्डयन प्राधिकरणका प्रमुख श्रीकृष्ण रिजालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उडान बन्द भएपछि मुगुबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौँतर्फ जाने यात्रु तथा नेपालगञ्ज र सुर्खेतबाट मुगु आउने यात्रु विमानस्थलमै रोकिएका छन् ।” मौसममा सुधार नआएसम्म हवाई उडान हुन नसक्ने प्रमुख रिमालले बताउनुभयो । हवाईसेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीका अनुसार त्यहाँ पाँच दिनदेखि हवाईसेवा अवरुद्ध छ । हुम्लामा पनि वर्षाले हवाईसेवा अवरुद्ध छ । खराब मौसमका कारण बुधबारदेखि हवाईसेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । हवाईसेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् । हुम्ला र मुगुमा नेपालगञ्जबाट तारा, समिट र सीता एयरलाइन्सले उडान भर्दै आएका छन् ।

यसैगरी पहिरो खसेपछि कर्णाली राजमार्गको कालिकोट सडकखण्ड बन्द भएको छ । कालिकोटको हुल्म बजार, गगनेखोला, झाम्लाखोलालगायत ठाउँमा पहिराले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्ना, नलगाड र राप्ती राजमार्गको सल्यान क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ । यस्तै, अमेलिया–तुलसीपुर–शीतलपाटी–थारमारे–मुसिकोट सल्यानमा अवरुद्ध छ । ग्रामीण क्षेत्रमा सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

रुकुमपूर्व र पश्चिमलाई मुख्य राजमार्ग र सहरसँग जोड्ने राप्ती लोकमार्ग र मध्यपहाडी राजमार्गको यात्रा बर्खायाममा जोखिपूर्ण हुने गरेको छ । तुलनात्मक रूपमा राप्ती लोकमार्गभन्दा मध्यपहाडी राजमार्ग यतिबेला जोखियुक्त छ । निर्माणको अन्तिम चरणका रहेको यो मार्गअन्तर्गत रुकुम पूर्वपश्चिम खण्डका दर्जनौँ ठाउँमा पहिरो खस्ने, सडक भासिने र खहरे बढेर आवागमन अवरुद्ध हुने गरेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरेलले जानकारी दिनुभयो । पूर्वको बागलुङ सिमाना आसपास, धौलापहिरा, रानीकोट र खोपिराचार आसपास तथा पश्चिमको किटेनी भिर, खरखरे, सिम्ली आसपास, चाइनागर आसपास र कालेखोलालगायत ठाउँमा पहिरोले जोखिम बढेको इन्जिनियर खरेलले बताउनुभयो । त्यस्तै रुकुमपूर्व जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी राजमार्गमा अत्यावश्यकबाहेक यात्रा नगर्न सूचना जारी गरेको छ । प्रजिअ माधवप्रसाद शर्माले मध्यपहाडी राजमार्गको यस खण्डमा यात्रा गर्दा सुरक्षालाई ध्यान दिन र अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरिएको बताउनुभयो । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...