न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : न्यायाधीश राउत

Published on

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायपालिकालाई लयमा फर्काउन राज्यको चौथो अङ्गको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुहुँदै इतिहासमा सुनौलो अक्षरले लेखिने पनि बताउनुभयो । उहाँले नेतृत्व भ्रष्ट र घृणित भए सबै ठाउँमा विकृति बढ्दै जाने उल्लेख गर्नुहुँदै सो समयमा पत्रकारको कलमले समाचार नलेखे मुलुकले ठुलो मूल्य चुकाउने बताउनुभयो । न्यायाधीश राउतले अहिले सामाजिक सञ्जाल व्यक्तिको चरित्र हत्या गर्ने माध्यम बनेको भन्दै नियमनको आवश्यकता औँल्याउनुभयो । लोकतन्त्रको मर्म मर्नेगरी अदालती रिपोर्टिङ गर्न नहुने पनि न्यायाधीश राउतको भनाइ छ । उहाँले गलतलाई गलत र सहीलाई सही भन्नसक्ने जमात नेपाली समाजमा कम हुँदै गएको बताउनुभयो ।

उहाँले निहित स्वार्थहरूका लागि अदालतको हुर्मत लिँदै गर्दा अदालतको प्रतिरक्षामा कोही पनि उभिन नसकेको जिकिर गर्नुभयो । न्यायाधीश राउतले अर्कालाई दोषारोपण गर्ने कुरामा नेपाली समाज पोख्त बन्दै गएको पनि बताउनुभयो । उहाँले लिभरल डेमोक्रेसीको कोर भ्याल्युजहरु जोगिएको दिनसम्म मात्रै न्यायपालिका र पत्रकारिता बाँच्ने जिकिर गर्नुभयो । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले कानुन क्षेत्रको पत्रकारितालाई अरू पत्रकारिताभन्दा विशेष रूपमा हेर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विभिन्न देशहरूले पनि कानुन क्षेत्रको पत्रकारितालाई अरू पत्रकारिताभन्दा विशेष रूपमा हेरेको उल्लेख गर्नुहुँदै अदालत संवेदनशील स्थान भएको बताउनुभयो । उहाँले न्यायाधीशहरू र अदालतका कर्मचारीहरूले प्रतिवाद गर्न नसक्ने भन्दै न्यायालय र सञ्चारकर्मीहरूबिच मर्म बुझ्ने भावना गाँसिन आवश्यक रहेको बताउनुभयो ।

न्यायाधीश फुयाँलले पछिल्लो समय अदालतको रिपोर्टिङ प्रसारणका साधनहरूमा उल्लेख्य परिवर्तन आएको भन्दै ‘न्यु मिडिया’लाई पनि नराम्रो दृष्टिकोणबाट हेर्न नहुने बताउनुभयो । सबैको पहुँचमा सूचना पुग्नेकुरा दुःखको विषय हुन नसक्ने न्यायाधीश फुयाँलको भनाइ छ । नेपाल बार एसोसिएसनकी महासचिव अञ्जिता खनालले अदालती भाषालाई ठिक ढङ्गबाट सम्प्रेषण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अरूको नक्कल गरेर समाचार प्रकाशन गर्दा र अदालती भाषा नबुझ्दा अनर्थ लाग्ने भएकाले अदालती भाषाको बारेमा सही ज्ञान लिन आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमले सत्यतथ्य समाचार नागरिकहरूसमक्ष पुर्‍याउँदा नै समाज सही बाटोमा जाने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘‘अदालतको रिपोर्टिङ कतै न कतैबाट तानेर पोष्ट गरिरहँदा भाषामा असङ्कुचित भएको जस्तो देखियो । भाषालाई नबुझेको जस्तो देखियो । भाषालाई बुझ्न नसकेको जस्तो देखियो । त्यस कारणले गर्दा कानुन मञ्चसँग जोडिएका पत्रकारहरू जसले अदालतको रिपोर्टिङ गर्नुहुन्छ, कानुनको रिपोर्टिङ गर्नुहुन्छ, उहाँहरूसँग बसेर कार्यक्रम गर्ने छलफल भइरहेको थियो । अहिले कार्यक्रम भयो । राम्रो भएको छ । पत्रकारले समाचार कभर गर्दा फेसबुक, अरू अनलाइनबाट कभर गर्दा त्यो समाचार अलिकति टुक्रिँदै जान्छ । यसले अलमल पार्दछ । जस्ताको त्यस्तै पत्रकारिता गर्न सक्नुपर्छ । नागरिकलाई सत्यतथ्य देखाउने काम गर्नुपर्छ ।’’

कार्यक्रममा बोल्नुहुँदै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अदालतको चरित्र, अदालतको संरचना, अदालतको प्रकृति र काम बुझेर पत्रकारिता भएमात्रै देशका लागि फाइदा हुने बताउनु भयो । उहाँले अदालतले आफैँ आफ्नो बारेमा बोल्न नसक्ने भएकाले सञ्चारमाध्यमले अदालतको मर्म बुझेर समाचार प्रकाशन एवम् प्रसारण गर्नुपर्ने बताउनुभयो । उहाँले अदालतले फैसला र आदेशमार्फत मात्रै बोल्नसक्ने र अदालतको स्वतन्त्रता बचाउनको लागि प्रेसको अहं दायित्व हुने बताउनु भयो । सञ्चारमाध्यमले स्वच्छ रूपमा अदालतका कुराहरू बाहिर ल्याउन आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाइ छ । उहाँले स्वतन्त्र र सक्षम न्यायपालिकाका लागि प्रेस सहयात्री रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अदालतको चरित्र, अदालतको संरचना, अदालतको प्रकृति र काम बुझेर पत्रकारिता हुनसक्यो भने देशका लागि फाइदा छ । समाजका लागि फाइदा छ । अदालतका लागि मात्रै फाइदा हुँदैन । अदालतले आफैँ आफ्नो बारेमा बोल्दैन । बोल्ने चरित्र र नेचर होइन । अदालतले फैसला र आदेशमार्फत बोल्ने हो । त्यो फैसला र आदेश आफ्नो बारेमा हुँदैन । अदालतको स्वतन्त्रता बचाउनको लागि प्रेसको अहम् दायित्व हुन्छ । अरू मानिसहरूको झुण्ड आएर पनि अदालतको बारेमा बोलिदिने होइन । मिडियाले स्वच्छ तरिकाले रिपोर्टिङ गरेर अदालतका कुरा ल्याउनुपर्छ । स्वतन्त्र र सक्षम न्यायपालिकाका लागि प्रेस सहयात्री हो ।’ कार्यक्रममा बोल्दै अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले पत्रकारको जिम्मेवारी आम नागरिक, पाठक, दर्शक र श्रोताप्रति उत्तरदायी हुनु रहेको बताउनुभयो । उहाँले टेलिफोन निर्भर पत्रकारिताले आत्मविश्वासका साथ समाचार लेख्न नसकिरहेको अहिलेको परिवेशलाई अन्त्य गर्न आवश्यक भएको बताउनुभयो । उहाँले पत्रकारहरू डिजिटल माध्यमका कारण बढी सुविधाभोगी भएको बताउनुभयो । उहाँले न्यायालयमा धेरै हदसम्म परिवर्तन आएको पनि बताउनुभयो । प्रेस, विपक्षी दल र न्यायालय कमजोर भएको समयमा लोकतन्त्र धरापमा पर्ने बताउनुभयो । उहाँले अहिले झण्डै दुई तिहाइको सरकार बन्न लागेको उल्लेख गर्नुहुँदै अदालत र पत्रकार एक ठाउँमा बसेर छलफल गर्नेकुरा सुखद् भएको पनि बताउनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...